मुम पाण्डेले डाके सुरक्षा समितिको बैठक, गरे ६ निर्णय

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सुरक्षा समन्वय समितिको बैठक डाकेर प्रदेशको सुरक्षावस्थाबारे छलफल गरेका छन् ।
छलफलपश्चात् बैठकले निम्न निर्णय गरेको छः

  • २०८२ भाद्र २३ र २४ गते मुलुकमा भएको आन्दोलनका कारण उत्पन्न असामान्य स्थिति र त्यसले प्रदेशको शान्ति सुरक्षामा परेको प्रभावका सम्बन्धमा सवै सुरक्षा निकायको व्रिफिङ सहित विस्तृत छलफल भयो। आन्दोलनका क्रममा हुन गएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै मृत्यु भएका सबै प्रति श्रद्धाञ्‍जली उनिहरूका परिवार र आफन्तजनमा समवेदना सहित घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने।
  • सुरक्षा निकाय र सुरक्षाकर्मीबाट लुटिएका हतियार हालसम्म फिर्ता नभएका र हतियार फिर्ताका लागि सर्वप्रथम सञ्‍चार माध्यममार्फत आह्वान गर्ने र समयमा फिर्ता नगर्नेलाई विषयगत अपराधको रुपमा कानून बमोजिम कारवाही प्रक्रियामा लैजाने।
  • आन्दोलनका कारण उत्पन्न भएको असामान्य अवस्था क्रमशः सुधार हुँदै गइरहेको र सो क्रममा भएका सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानून बमोजिम कारवाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन प्रदेशका सबै जिल्ला सुरक्षा समिति र आ-आफ्ना मातहत सुरक्षा निकायलाई निर्देशित गर्ने। शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायले सजगताका साथ समन्वयात्मक ढंगले कार्य गर्ने, गराउने।
  • बदलिदो परिस्थिति र सम्भावित शान्ति सुरक्षा चुनौतीलाई मध्यनजर गरी स्थानीय नागरिक समाज समेतको समन्वय र सहयोगमा सबै सुरक्षा निकायले आपसी सहयोग, सूचना आदानप्रदान, समन्वय र सहकार्य गरी प्रदेशको शान्ति सुरक्षालाई सामान्य बनाई राख्‍ने।
  • वर्षायाम कायमै रहेकाले सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी सबै जिल्ला विपद् व्यवस्थापन समितिहरू र सुरक्षा निकायले विपद् सुरक्षामा समेत सजगता अपनाएर पूर्वतयारी, प्रतिकार्य गर्ने गराउने।
  • वर्तमान सन्दर्भ समेतलाई दृष्टिगत गरी चाडपर्व लक्षित सुरक्षा योजनामा समेटी सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गराउने।
Exit mobile version