पोखरा आजः सेना सडकमा, भीड उस्तै !

जेन-जी आन्दोलनको क्रममा आज देशैभर नेपाली सेना परिचालनकाक्रममा पोखराका मुख्य सडकमा पनि उनीहरु परिचालित छन् ।

संवेदनशील क्षेत्र मानिएका पोखराका मुख्य बजार क्षेत्र, शहिद चोक, लेकसाइडलगायतका स्थानमा नेपाली सेता रातिदेखि नै खटिएका छन् ।

सेनाहरुले चोकचोकमा सर्वसाधारणहरुको सवारीसाधन रोकेर सोधपुछ गरिरहेका छन् भने निषेधाज्ञा र भोली बिहान ६ बजेसम्म कफ्र्यू जारी भइसकेको बताइरहेका छन् ।

सेनाले सर्वसाधारणलाई घरै फर्कन र आवतजावत बन्द गरी सहयोग गर्न सडकबाटै अपीलसमेत गरिरहेका छन् ।

कफ्र्यू र सेनाको आग्रहलाई लत्याउँदै पोखरेलीहरु घर बाहिर निस्किरहेका छन् भने न्यूरोडको भाटभटेनी आसपास सर्वसाधारणको भीड बढि रहेको छ ।

महेन्द्रपुलमा खटिएका सेनाका कमाण्डरले अपरान्हसम्म सर्वसाधारणलाई सम्झाइ–बुझाई गर्ने र त्यसपछि कडाइकासाथ प्रस्तुत हुने नयाँलिपिसमक्ष बताएका छन् ।

यतिबेलासम्म पोखरेलीहरु रमिते बन्दै सडकमा निस्किरहेका छन् भने जेनजीहरुले सडकमा भीड नगरी घरै फर्कन आग्रह गरेका छन् ।

यता, हिजो रातिसम्म सडकमा जलाइएका सवारीसाधनलगायतका भग्नावशेषहरु सफाई गर्ने क्रम पनि चलिरहेको छ ।

नेपाली सेनाले सशस्त्र र नेपाल प्रहरीलाई समेत परिचालन गरी शान्ति सू-व्यवस्था कायम गर्न खटिने बताएपनि अहिलेसम्म सेनाबाहेक अन्य सुरक्षा संयन्त्रहरुलाई सडकमा देखिएको छैन ।

सेनाले पत्रकारलाई पनि अपरान्हदेखि बाहिर ननिस्कन अनुरोध गरिरहेको छ ।

Exit mobile version