स्याङजामा कर्तव्य ज्यान मुद्दापछि फरार सोतिमगर २३ वर्षपछि पोखराबाट पक्राउ

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका स्याङ्जाको चापाकोट नगरपालिका –२ (साविक रत्नपुर गाविस)मा हस्ते विकलाई कुटपिट गरी घाइते बनाई फरार रहेका ४६ वर्षीय बाजिन्द्रबहादुर सोतीमगरलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ ।

सोतीमगरले वि।सं। २०५० साल फागुनमा गाउँकै एक विवाह कार्यक्रममा स्थानिय हस्ते विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारका क्रममा विकको मृत्यु भएपछि मुद्दा दर्ता भएको थियो ।

सो घटनामा सर्वोच्च अदालतले २०५९ साल असोज ७ गतेको फैसलामार्फत सोतीमगरलाई २ वर्ष कैद सजाय तोकेको थियो । तर, फैसला आएयता उनी फरार रहँदै आएका थिए ।

स्याङ्जा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अपरेशन टोलीले उनलाई २०८२ साउन १३ गते पोखरा महानगरपालिका –१७, तल्लो बिरौटा टोलस्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका दोषीलाई अब कैद सजाय भुक्तानको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिए ।

Exit mobile version