चोरी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार तत्कालीन स्याङ्जा जिल्ला अदालतले २०५७ साल चैत २२ गते चोरी मुद्दामा दोषी ठहर गर्दै १ महिना कैद सजाय सुनाएको थियो। सजायमध्ये २५ दिन कैद भुक्तान गरिसकेका प्रतिवादी ५ दिन कैद भुक्तान गर्न बाँकी रहँदै फरार भएका थिए।
पक्राउ पर्नेमा तत्कालीन पुतलीबजार नगरपालिका–११ (हाल वडा नं. १०), राङखोला निवासी ५१ वर्षीय रामबहादुर गुरुङ रहेका छन्। उनी रुपबहादुर गुरुङका छोरा हुन्।
प्रहरीले फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा असार १० गते आफ्नै घरबाट उनलाई पक्राउ गरेको जनाएको छ। पक्राउपछि बाँकी कैद सजाय भुक्तानका लागि उनलाई स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको छ।
