जिल्ला प्रहरी कार्यालय कास्कीले गएको आर्थिक वर्षमा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ सयभन्दा बढी प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ।
प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा ८ सय ४ जना फरार प्रतिवादी पक्राउ परेका हुन्, जसबाट राज्यले १० करोड रुपैयाँभन्दा बढी जरिवाना असुल गर्नेछ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) हरीबहादुर वस्नेतका अनुसार, आर्थिक वर्ष २०८१/८२ (२०८१ साउन १ देखि २०८२ असार मसान्तसम्म)को अवधिमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइबाट खटिएको टोलीले उक्त सफलता हात पारेको हो।
पक्राउ पर्नेमा ६ सय ४ जना पुरुष र २ सय महिला छन्।
विभिन्न अपराधमा संलग्न भई सम्मानित अदालतबाट दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरी लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि कास्की जिल्ला अदालतमा बुझाइएको डिएसपी वस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार, पक्राउ परेका प्रतिवादीहरूबाट कुल ६१ वर्ष २ महिना १५ दिन कैद सजाय भुक्तान गराइनेछ। यसैगरी, उनीहरूबाट १० करोड, १२ लाख १ हजार ३ सय ७१ जरिवानासमेत असुलउपर हुनेछ।