छोरेपाटन कालोमोसो प्रकरणः सुजनपछि राजन र वासुदेव पक्राउ

पोखराको छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रिनाथ पहारीलाई कालोमोसो दलेको आरोपमा थप २ जना पक्राउ परेका छन् ।

पहारीलाई कालोमोसो देलेपछि नेकपा (बहुमत)का पोलिटब्यूरो सदस्य सुजन विक सोही दिन पक्राउ परेका थिए । विकपछि घटनामा संलग्न अन्य २ को खोजी भइरहेको थियो ।

सोही क्रममा कास्की प्रहरीले शनिबार राति बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का गण्डकी प्रदेश संयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढालाई पक्राउ गरेको छ ।

पक्राउ परेको तीनैजनालाई निशर्त रिहा गर्न बहुमतका महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ले यसअघि नै विज्ञप्तीमार्फत दबाब दिएका छन् ।

यसपश्चात्, अखिल (क्रान्तिकारी)का अध्यक्ष विरेन्द्र शाहले पनि उनीहरुलाई तत्काल रिहा गर्न भन्दै भ्रष्ट र माफियालाई जुनसुकै हालतमा कारवाही गर्ने चेतावनी दिएका छन् ।

साथै, शक्तिको आडमा विद्यालयको सम्पत्ति दोहन गर्ने कार्य बन्द गर्न भन्दै अध्यक्ष शाहले डेभिज फल निजी क्षेत्रलाई दिने सम्झौता तत्काल खारेज गर्न अन्यथा कारवाही भोग्न तयार रहन थप चेतावनी दिएका छन् ।

Exit mobile version