नेकपा (बहुमत)का कार्यकर्ताले छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई आज कालोमोसो दलेका छन् ।
पहारीमाथि विद्यालयको स्रोत साधनको दुरुपयोग र भ्रष्टाचारको आरोप छ ।
अखिल क्रान्तिकारीले जारी प्रेस विज्ञप्तिमा ‘विगत लामो समयदेखि अध्यक्षको एकल निर्णय, स्रोत साधनको दुरुपयोग, जनप्रतिनिधि र स्थानीय नेताहरूको संरक्षणमा भ्रष्टाचार मौलाउँदै आएको छ’ उल्लेख छ ।
विद्यालयको आर्थिक तथा भौतिक विकासका नाममा आएका रकमको सार्वजनिक विवरण नदिइएको, शिक्षण–अशिक्षण सामग्री खरिद प्रक्रिया अपारदर्शी भएको, अनावश्यक निर्माण कार्यमार्फत रकम लुटिएकोजस्ता गम्भीर आरोपहरु लगाइएको छ।
यस विषयमा पटक–पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएको र बाध्य भएर यस्तो प्रतीकात्मक विरोध गरिएको उनीहरुले बताएका छन्।
बहुमतका कार्यकर्ताले यसअघि पोखरा लेकसाइडमा रहेको कर्ण शाक्यद्वारा सञ्चालित वाटरफ्रन्ट रिसोर्टको पर्खाल भत्काएका थिए ।
त्यस्तै, मोहम्मद अफताव आलमलाई सफाई दिने २ वकिललाई उनीहरुले अदालतमै पसेर कालोमोसो दल्दै नाराबाजी गरेका थिए ।