पछिल्लो साता देशभर ८६ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । जसअनुसार नेपालमा हाल संक्रमितको संख्या १ हजार ८ सय ९० पुगेको तथ्यांकले देखाउँछ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ प्रदेशमा ८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
डेंगु देखिएका प्रदेशमध्ये गण्डकीमा सबैभन्दा बढी (३१ जना) संक्रमित थपिएका छन् ।
थपिएको संख्या अनुसार हाल गण्डकीमा संक्रमितको संख्या ३ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डेंगु संक्रमण देखिएपनि डराइहाल्नु पर्ने अवस्था तत्काल नभएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बताएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगुको बिरामीबारे दैनिक जानकारी राखिरहेको बताउँदै पश्चिमाञ्चल अस्पतालमा यसको संक्रमणबाट प्रभावित खासै नआएको उल्लेख गरेको छ ।
प्रतिष्ठानका वरिष्ठ मेडिकल रेकर्ड अधिकृत भीमप्रसाद पौडेलका अनुसार फाट्टफुट्ट डेंगुको परीक्षण गर्न केही बिरामी आएको बताउँदै कोही पनि भर्ना भएर उपचाररत नरहेको जानकारी दिए ।
अघिल्लो वर्ष भदौको महिना करिब २ हजारको हाराहारीमा पोखरामा डेंगु संक्रमित पाइएको जनाउँदै अधिकृत पौडेलले अहिले संक्रमण खासै फैलिइ नसकेको बताए ।
‘पोखरामा अहिले अत्यधिक वर्षा भइरहेको छ, यस्तो बेला लामखुट्टेको प्रभाव कम हुन्छ’ पौडेल भन्छन् ‘यतिबेला दैनिक वर्षाकाकारण पानी बगिरहने हुनाले लामखुट्टेको प्रजनन कर्म अत्यन्त कम हुन्छ ।’
केही दिन बिराउँदै, वर्षा भयो भने डेंगु संक्रमणको जोखिम बढ्नसक्ने उनको भनाई छ ।
असार १ देखि २७ गतेसम्म ६ जना बिरामी डेंगुको आशंकामा प्लेटलेट् परीक्षण गराउन आएको पौडेल बताउँछन् । ‘ल्याब रिपोर्टछि उनीहरुमा डेंगु भने देखिएन’ उनले भने ।
सफा पानी जम्मा भएको भाँडो वा ठाउँमा हुर्कने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण हुने भएकाले घर वरिपरि पानी जम्न नदिनु नै उपयुक्त हुने उनको सुझाव छ ।
डेंगु आफैमा रोग नभएको र त्यसको खास उपचार पनि नभएको भन्दै पौडेलले त्यसले छाति, श्वास–प्रश्वासमा समस्या नल्याओस् भनेर रोकथामको पद्धति अपनाइने बताए ।
‘संक्रमित भेटिए एन्टीबडीको प्रयोग गरिन्छ’ पौडेल भन्छन् ‘प्लेटलेट्स घट्दैमा आत्तिनु पर्दैन, डब्लुआरसी (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)ले उपचारका सम्पूर्ण प्रबन्ध मिलाएको छ ।’