चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत गुन्द्रही ढाकाह, नमुना, शान्तिकुञ्ज र कृष्णसार मध्यवर्ती क्षेत्र आसपासमा कार्यरत ४० जना नेचर गाइडहरूका लागि नवलपुरमा तीनदिने पन्क्षी पहिचान, अवलोकन र दिगो पन्क्षी पर्यटनसम्बन्धी तालिम सम्पन्न भएको छ ।
पोखरा पन्क्षी समाजको आयोजना, नेपाल पर्यटन बोर्डको सहयोग तथा नेचर गाइड एसोसिएसन नवलपुरको सहकार्यमा असार ८, ९ र १० गते थारु सामुदायिक लज गदार, नवलपुरमा तालिम सञ्चालन गरिएको थियो ।
तीनदिने तालिमको क्रममा नेपाल पन्क्षीविद् संघका अध्यक्ष एवम् चराविद् हठन चौधरी, बड्र्स नेपालका कार्यकारी निर्देशक सिजन ज्ञवाली, पोखरा पन्क्षी समाजका अध्यक्ष मनशान्त घिमिरे, सचिव हेमन्त ढकाल, हिमालयन ट्रेल्सका कार्यकारी निर्देशक गोपी श्रेष्ठ, नेपाल नेचर ट्रेक्सका कार्यकारी निर्देशक राजेन्द्र गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङ, नेपाल पन्क्षीविद् संघका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्याल लगायत प्रशिक्षकहरूले सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै स्थलगत रुपमा प्रयोगात्मक कक्षाहरू समेत सञ्चालन गर्नुभएको थियो ।
तालिमका समापनका क्रममा चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त लगायतले सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
पछिल्ला वर्षहरूमा चरा पर्यटन (चराहरूको अवलोकन र अध्ययनका लागि गरिने यात्रा) को आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित नवलपुर चरा पर्यटनको प्रचुर सम्भावना बोकेको एक महत्वपूर्ण गन्तव्य हो ।
तालिमले नवलपुरलाई चरा पर्यटनको केन्द्रका रूपमा विकास गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ ।