देशभरका २४ वटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउन नसकेको पाइएको छ ।
कुल २९३ वटा नगरपालिका (उपमहानगर र महानगर समेत)मध्ये निर्धारित समयमा बजेट २६९ वटा नगरपालिकाले मात्रै बजेट ल्याउन सकेको हो । कुल नगरपालिका मध्ये ९२ प्रतिशत नगरहरूले बजेट ल्याएका छन् भने ८ प्रतिशतले ल्याउन सकेका छैनन् ।
बजेट नल्याउने मधेसका धेरै नगर
नेपाल नगरपालिका सङ्घले असार १० गते मंगलबार साँझ साढे ६ बजेसम्म जम्मा गरेको तथ्याङ्क अनुसार मधेसका ७७ वटा नगरपालिका मध्ये १६ वटा नगरपालिकाले बजेट ल्याउन सकेनन् ।
यस्तै बागमतीका ४५ वटा नगरमध्ये ४ वटाले ल्याएनन्, लुम्बिनीको ३६ नगर मध्ये २ वटाले ल्याएनन् भने कोशीमा ४९ नगर मध्ये १ र कर्णालीमा रहेका २५ मध्ये एक नगरपालिकाले बजेट ल्याउन नसकेका हुन् ।
सुदूरपश्चिममा रहेका ३४ वटै नगरपालिका र गण्डकीमा रहेका २७ वटै नगरले निर्धारित समयमा नै बजेट ल्याउन सफल भएका छन् ।