पोखरा पर्यटनमा गुणस्तरको प्रयासः ‘टुरिस्ट गाइड’ तालिम सुरु

पोखरा क्षेत्रमा अन्तराष्ट्रिय टुरिस्ट गाइड उत्पादन गर्ने उद्धेश्यले आजदेखि पोखरामा ६ दिने टुरिस्ट गाइड तालिम सुरु भएको छ ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा तथा गण्डकी अल्पाइन क्लब र काठमाण्डौं इन्भाइरोनमेण्टल एजुकेशन प्रोजेक्टको प्राविधिक सहयोगमा पोखराको वरपिपल रिसोर्टमा छ दिने टुरिस्ट गाइड प्रशिक्षण सुरु भएको हो ।

पोखरा क्षेत्रमा अन्तराष्ट्रिय स्तरका टुरिष्ट गाइडहरु निकै कम भएकोले उक्त कार्यक्रम आयोजना गरिएको संघ गण्डकीका अध्यक्ष विकास गुरुङले बताए ।

उनका अनुसार प्रशिक्षणमा ट्रेकिङ गाइडहरूको लागि प्राथमिक उपचार, नक्सा अध्ययन, पैदल यात्रा व्यवस्थापन, माउन्टेन गाइडिङ, टोपोग्राफिक म्यापिङ र हिमाल आरोहणका क्रममा आवश्यक कौशल सम्बन्धी विषय सम्बन्धि जानकारी गराइने छ ।

तालिममा ७ महिलासहित ३३ जना लाइसेन्स प्राप्त ट्रेकिङ गाइड सहभागी छन् ।

तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पदयात्रा क्षेत्रमा आउने पर्यटकलाई थप प्रभावकारी सेवा पु¥याउन उक्त तालिम आयोजना गरिएको बताए ।

पोखरा जस्तो ठाउँमा टुरिष्ट गाइडहरु निकै कम भएकोले उनीहरुलाई यही पेशामा टिकाउन प्रयास गरिएको प्रमुख लामिछानेको भनाई छ ।

संस्थापक अध्यक्ष शेषकान्त शर्मा पौडेलले पोखरामा करिब ३ हजार ५ सय गाइड भए पनि अन्तर्राष्ट्रियस्तरका दक्ष गाइडको अभाव रहेको उल्लेख गर्दै दिगो पेशागत सुरक्षाका लागि दैनिक भत्ता दोब्बरले वृद्धि गर्नुपर्ने माग गरे ।

हाल पोखरा क्षेत्रका गाइडहरुले २ हजार प्राप्त गरे पनि दिगोरुपमा यही पेशमा राख्न दैनिक भक्ता ४ हजार आवश्यक रहेको उनको भनाई छ ।

संघका सचिव मनशान्त घिमिरेका अनुसार ४ वर्ष भन्दा बढी अनुभव भएका गाइडहरू मात्रै छनोट भएका छन् ।

Exit mobile version