गुँदेतालको फाँटमा असारे रोपाइँ महोत्सवको तयारी

पोखराको पर्यटकीय आकर्षणकोरुपमा रहकेको रोपाइँ महोत्सव यसपटक लेखनाथको गुँदेतालस्थित फाँटमा आयोजना हुने भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा असारको १५ गते आयोजना हुने रोपाइँ महोत्सवको यो २०औं संस्करण हो ।

महोत्सवबारे जानकारी दिन आज मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ असार १५ गते गुँदेताल क्षेत्रमा गरिने जानकारी दिए ।

महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुर्याउने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायतका उद्देश्य राखिएको उनले बताए ।

महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान, विभिन्न कलाकारद्वारा सांगीतिक प्रस्तुति लगायतका कार्यक्रम राखिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।

महोत्सवको प्रवर्द्धकका रुपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड छन् भने पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाणिज्य संघले सहकार्य गरेका छन् । यस संस्करणको महोत्सवको स्थानीय संयोजन शान्तिप्रेमी आमा समूह पोखरा-२६ ले गरेको छ ।

Exit mobile version