यातायात व्यवसायीको आन्दोलन जारी छ, रातो प्लेटले यात्रु बोक्न पाइँदैनः योगेन्द्र केसी

दिपक के श्रेष्ठः ‘सार्वजनिक यातायात बचाउ समिति’का प्रवक्ता योगेन्द्र केसीले शुक्रबारदेखि जारी आन्दोलन फिर्ता नभएको प्रष्ट्याएका छन् ।

संघ सरकारसँग आन्दोलन स्थगन गर्ने र औपचारिक पत्र गण्डकी प्रदेश सरकारलाई पठाउने तयारी भइरहेको बताएपनि त्यसको कुनै औचित्य नभएको प्रवक्ता केसीले बताए ।

‘संघ सरकारको पत्रसँग हाम्रो सरोकार छैन’ केसी भन्छन् ‘स्थगन भन्ने शब्द कसरी, कहाँबाट आयो हामी त्यो मान्दैनौं ।’ समितिसँग आन्दोलनको मुद्दामा सहमति नभएको भन्दै उनले वार्ता र सम्वाद जारी रहेको तर आन्दोलन भने नरोकिएको बताए ।

हालको नियमावली खारेजीको माग नै रहेपनि त्यसमा समिति केही लचक देखिएको र अहिले गण्डकी प्रदेशको बैठक बसिरहेको छ ।

बैठकपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका केसीले रातो प्लेटले यात्रु बोक्न नपाउने निर्णयमै अडिग रहने जनाएका छन् ।

केसी भन्छन् ‘रातो प्लेटले यात्रु बोक्न, सार्वजनिक सेवा दिन पाउँदैन । इन्ड्राइभ, टुटल, पठाओमा दर्ता भएका मोटरसाइकललाई कालो प्लेट बनाइयोस् भन्ने हाम्रो बटमलाइन हो ।’

यता प्रदेश सरकार भने कुनैपनि हालतमा रायड सेयरिङ् नियमावली खारेज नहुने बताउँदै आएको छ ।

प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलैदेखि राइड सेयरिङ्को काम भइरहेकाले यसलाई नियमन गरी वैधानिकता दिन नियमावली ल्याएको बताएका छन् ।

Exit mobile version