नयाँलिपि -साफ यू–१९ च्याम्पियनसिप फुटबलमा आयोजक भारतले रवाफिलो जित निकालेको छ । आज (मंगलबार) राती सम्पन्न खेलमा नेपाललाई फराकिलो गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।
भारतको गोल्डेन जुब्ली स्टेडियममा भएको समूह ‘बी’ को अन्तिम खेलमा भारतले नेपाललाई ४–० ले हराएको हो ।
नेपाली टिम भारतविरुद्ध पहिलोपटक यति फराकिलो अन्तरले पराजित भएको हो । यसअघि दुवै टिमबीच भएका खेल पेनाल्टी सुटआउटसम्म पुगेका थिए ।
सन् २०१५ मा नेपालले घरेलु मैदानमा उपाधि जित्दा भारतलाई पेनाल्टीमा हराएको थियो । त्यसको आठ वर्षपछि भारतले २०२३ मा फाइनल प्रवेशको क्रममा नेपाललाई पेनाल्टीमै पाखा लगाएको थियो । तर, यसपटक भने भारतविरुद्ध नेपाल निरीह देखियो ।
भारतको जितमा रोहिन सिंहले दुई, ओमङ डोडुम र डानी मेथेईले समान १/१ गोल गरे । यो जित सङै भारत समूह विजेता बन्यो ।
उसले दुई खेलबाट ६ अंक जोड्यो । नेपाली टिम दुई खेलबाट ३ अंक मात्र जोड्न सफल भयो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ५–० ले हराएको थियो ।
नेपालले अब सेमिफाइनलमा समूह ‘ए’ विजेता बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको सेमिफाइनल भिडन्त शुक्रबार हुनेछ ।