महानगरवासीलाई ‘आइटी’ पढ्न बिनाधितो ५ लाख रिन, कमाएर तिर्नुपर्ने

नयाँलिपिः पोखरा महानगरपालिकाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन र रोजगारी गर्न चाहने युवाहरूलाइ ५ लाख रुपैयाँसम्म रिन दिने कार्यक्रम अघि सारेको छ ।

महानगरको व्यवसाय प्रवर्द्धन केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष र गण्डकी विश्वविद्यालयको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।

महानगरको व्यवसाय प्रवर्द्धन केन्द्रका कर्मचारी कबिर श्रेष्ठका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को युवासँग महानगर उद्यमशीलता विकास तथा स्टार्टअप साझेदारी कार्यक्रम अन्तर्गत रोजगारमुखी सीप विकास तालिम र कर्जा सुविधा प्रदान गरिनेछ ।

श्रेष्ठ भन्छन् ‘आइटी पढ्न ५ लाख रुपैयाँ नै लाग्छ भन्ने होइन, विद्यार्थी भर्ना भएपछि उनीहरुले पाउने रिनको सीमा त्यतिसम्म हो ।’ यसका लागि गण्डकी विश्वविद्यालयले पाठ्यक्रम तयारी गरिरहेको श्रेष्ठले जानकारी दिए ।

केन्द्रले २० जनाको कोटा तोकेको छ । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका र कम्तीमा १२ क्रेडिट आवरको आईटीसम्बन्धी कोर्स पूरा गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

आवेदन प्राप्तिपछि लिखित परीक्षा र अन्तर्वार्तामार्फत उत्कृष्टलाई माध्यम बनाएर छनोट गरिने केन्द्रले जनाएको छ ।

कोर्षपश्चात् रोजगार भएपछि उक्त रिन तिर्दै जाने प्रावधान तयार गरिएको छ । जागिर खोज्न केन्द्र र महानगरलेसमेत पहल गर्ने छ ।

Exit mobile version