नयाँलिपिः केही महिनाअघि धरानका मेयर हर्क साम्पाङ रित्तो गाग्रो बोकेर प्रधानमन्त्री केपी ओली भेट्न काठमाण्डौ आएका थिए । प्रधानमन्त्री भेट्न गाग्रो बोकेरै सिंहदरबार पस्न खोजेपछि भेट हुन सकेन । मेयर साम्पाङ धरानै फर्किए । र, फेसबुकमार्फत रोष पोखे ।
तर, आज भने उनै साम्पाङले प्रम ओलीसँग सौहार्दरुपमा भेट गरी धरानेले खेप्नुपरेको खानेपानीको समस्या छताछुल्ल पारेका छन् । समस्याबारे अवगत भएको भन्दै प्रम ओलीले ‘धरानवासीको समस्या सम्बोधन हुन्छ, आजैबाट प्रक्रिया अघि बढ्यो’ भन्ने अभिव्यक्ति दिए ।
धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला”, प्रधानमन्त्री ओलीले भने ।
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए।
यद्यपि, मेयर साम्पाङले जनता समस्या लिएर नेता, मन्त्री भेट्नभन्दा उनीहरु स्वयं जनताको समस्या सुन्न आइपुग्नु पर्ने प्रतिक्रिया दिएका छन् । उनले भने ‘धरान पनि नेपाल हो, हामी हैन मन्त्री धरान आएर समस्या बुझ्ने काम गर्नुपर्छ ।