प्रजिअलाई कास्की पत्रकारले बुझाए ध्यानाकर्षण पत्र

नयाँलिपिः नेपाल पत्रकार महासङ्घ कास्कीले केन्द्रिय कार्यालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

महासङ्घको विरोध कार्यक्रमअन्तर्गत सोमबार पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले प्रजिअ पाण्डेमार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

पत्र बुझाउँदै बरालले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरे ।

त्यस्तै, उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन पत्रमार्फत सरकारको ध्यानाकर्षण गरिएको बताएका छन् ।

शुक्रबार काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो ।

अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुङ्गामुढा गरी क्षति पुर्‍याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुङ्गामुढा गरी क्षति पुर्‍याइएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।

Exit mobile version