स्पेनिस ला लिगा : बार्सिलोनाको फराकिलो जित

नयाँलिपि । बार्सिलोनाले स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा गिरोनालाई ४–१ ले हराएको छ ।

जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडमाथि तीन अङ्कको अग्रता कायम गरेको छ। गिरोनाका लाडिस्लाभ क्रेजेकीले गरेको आत्मघाती गोलका कारण बार्सिलोनाले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको ५३ औँ मिनेटमा अनार्ट डन्जुमाले बराबरी गोल गरेका थिए।

फ्रान्क डी जोङसँग एसिस्टमा लेवान्डोस्कीले ६१ औँ मिनेटमा गोल गरे। ७७ औँ मिनेटमा उनले अर्को गोल गरे। सो गोल उनको यस सिजनको लिगको २५ औँ हो। फेरान टोरेसले थप एक गोल थपे।

बार्सिलोनाले पछिल्ला ९ लिग खेलमा जित हात पारेको छ। स्पेनिस ला लिगाका आइतबार भएका अन्य खेलमा भिल्लारियलले गेटाफेलाई २–१ ले र रियल बेटिसले सेभियालाई २–१ ले हराए।

भ्यालेन्सियाले मालोर्कासँगको खेलमा १–० को सफलता पायो। एथलेटिक क्लब र ओसासुनाबीचको खेलमा गोलरहित बराबरी भयो। तालिकामा बार्सिलानाको ६६ तथा रियल म्याड्रिडको ६३ अङ्क छ। एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ भने एथलेटिक क्लबको ५३ अङ्क छ।

Exit mobile version