नयाँलिपिः नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री पदम गिरीले हिजो काठमाडौंका तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको नाइके पूर्वराजा ज्ञानेन्द्र शाह रहेको बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आन्दोलनका मुख्य नाइके ज्ञानेन्द्रलाई कारबाही गर्ने आँट सरकारले गर्नुपर्ने बताएका हुन् ।
‘ज्ञानेन्द्र शाह यसका नाइके हुन् । हाँगा पाततिर हामी लागेर हुँदैन । मूल कुरा के हो ? त्यो खोजेर त्यसलाई कारबाही गर्ने आँट सरकारले गर्नुपर्छ भन्ने म ठान्छु । यो हिजो दुर्गा प्रसाईँले ज्ञानेन्द्रलाई भेटिसकेपछि ज्ञानेन्द्र शाहले यसो यसो गर्नु भनेर निर्देशन दिइसकेपछि भएको घटना हो । यसमा गम्भीर ढङ्गले अनुसन्धान गर्नुपर्छ,’– उनले भने ।
राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले ‘जनकमाण्डर’ समेत रहेका दुर्गा प्रसाईँको आह्वानमा तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो । सो प्रदर्शनको क्रममा एक प्रदर्शनकारी र एक पत्रकारको मृत्यु भएको थियो ।
प्रदर्शनका क्रममा नेपाल प्रहरीतर्फ ५३ जना र सशस्त्र प्रहरीतर्फ २२ जना घाइते भएका छन् । त्यस्तै ३५ जना प्रदर्शनकारी पनि घाइते छन् ।
–फाइल तस्बिर