‘राजतन्त्र’ छाडेर नयाँ दल खोल्दै प्रसाईं, राप्रपालाई लगाए ‘धोका’को आरोप

जेलबाट धरौटीमा छुटेको दुई साता नबित्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।

केही समयअघिसम्म राजसंस्था पुनर्स्थापना आन्दोलनको ‘जनकमाण्डर’ को भूमिकामा रहेका प्रसाईंले अब आफ्नै नेतृत्वमा फरक राजनीतिक यात्रा सुरु गर्ने संकेत दिएका हुन्।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्ट’ नारासँग मिल्दोजुल्दो ‘फस्ट नेपाल, फस्ट नेपाली’ को मुख्य नारासहित उनले नयाँ दल खोल्ने निर्णय सुनाएका हुन्।

सोमबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले दलको नाम र दर्ता प्रक्रियाबारे केही नखुलाए पनि आफ्नो राजनीतिक दिशा अब स्पष्ट भएको बताए।

विगतमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को राजनीतिमा समेत संलग्न प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाऊ महाअभियान’ मार्फत देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका थिए।

यही अभियानको क्रममा उनी राजसंस्था पुनर्स्थापनाको पक्षमा खुलेर लागेका थिए। गत चैत १५ गते उनकै आह्वानमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि उनको राजनीतिक यात्रामा नयाँ मोड आएको थियो। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो भने आगजनी र तोडफोडका घटना भएका थिए।

सोही घटनापछि पक्राउ परेका प्रसाईंलाई उच्च अदालत पाटनले साउन १९ गते ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। कारागारबाट छुटेपछि उनले आफ्नो राजनीतिक एजेन्डामा ठूलो फेरबदल गरेका छन्।

रोचक कुरा के छ भने, जुन राजसंस्था पुनर्स्थापनाको मुद्दा लिएर उनी आन्दोलित थिए, त्यसलाई उनले आफ्नो नयाँ दलको एजेन्डाबाट हटाएका छन्।

पत्रकार सम्मेलनमा उनले सार्वजनिक गरेका मुख्य एजेन्डाहरूमा प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, २० लाखसम्मको ऋण मिनाहा, कर्मचारीको तलब एक लाख पुर्‍याउने र २०४६ सालपछिका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्ने जस्ता लोकप्रिय विषयहरू समेटिएका छन्।

तर, त्यसमा कतै पनि राजसंस्था वा हिन्दु अधिराज्यको विषय उल्लेख छैन, यद्यपि उनले प्रस्तुत गरेको भिडिओमा ‘बौद्ध किरातसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य’ को प्रसंग भने थियो।

आफ्नो नयाँ राजनीतिक यात्राको औचित्य पुष्टि गर्न प्रसाईंले राजावादी दलहरू, विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चैत १५ को आन्दोलन बिथोलेको गम्भीर आरोप लगाएका छन्। उनले आफू कहिल्यै राजावादी नभएको, बरु राष्ट्रवादी भएको जिकिर गरे।

‘म राजावादी होइन, राष्ट्र र नागरिकको माया गर्ने मानिस हुँ। राजा पनि राजावादी होइनन्, राष्ट्रवादी हुन्,’ प्रसाईंले भने, ‘चैत १५ को आन्दोलन राजावादी, एमाले र माओवादी मिलेर बिगारेका हुन्।’

उनले राप्रपाका नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाह र हिन्दु धर्मलाई चुनावी एजेन्डा मात्र बनाएको तर आफूले देशव्यापी रूपमा राजाको चर्चा हुने माहोल सिर्जना गरिदिएको दाबी गरे।

चैत १५ को प्रदर्शनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणाको भूमिकाप्रति पनि उनले कडा असन्तुष्टि पोखे।

‘उहाँहरू कार्यक्रम हुनुभन्दा एक घण्टाअघि नै मञ्चमा गएर बस्नुभयो, तर पछि यो आन्दोलन दुर्गा प्रसाईंले गरेको हो, हामी त पाहुना मात्र गएको भन्नुभएछ,’ प्रसाईंले आक्रोश व्यक्त गरे, ‘यस्ता मानिससँग मिलेर राजनीति हुँदैन।’

जेलमा रहँदा आफूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूको गतिविधि नजिकबाट नियालेको बताउँदै उनले अब राप्रपामा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

‘अबको यात्रा राजनीतिक यात्रा हो। हामी नयाँ तरिकाले अघि बढ्छौं,’ उनले भने, ‘हाम्रो दल राजावादी होइन, राष्ट्रवादी दल हुन्छ। यो नेपाल र नेपालीका लागि, भुइँ मानिसका लागि हुन्छ।’

जेल जीवनले आफूलाई नगलाएको र फेरि पनि जेल जान तयार रहेको बताउँदै उनले आगामी निर्वाचनलाई लक्षित गरेर तयारी थाल्ने उद्घोष गरे।

Exit mobile version