वीरसिंह र देवराजलाई अमरसिंहको सम्मान, विद्यालय परिसरमा सालिक निर्माण

नयाँँलिपिः अमरसिंह माविले संस्थापक वीरसिंह गुरुङ र जग्गादाता देवराज घिमिरेको सालिक निर्माण गरेर वार्षिकोत्सव मनाएको छ ।

२०१२ सालमामा मेजर वीरसिंह गुरुङको पहलमा विद्यालय स्थापना गरिएको थियो । जसलाई देवराज घिमिरेले जग्गा प्रदान गरी आजको स्वरुपमा विद्यालय विस्तार भएको हो ।

विद्यालयको ६९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोहबीच संस्थापक एवं जग्गादाता गुरुङ र जग्गादाता घिमिेरेको सालिक अनावरण गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले संस्थापकको योगदानबारे चर्चा गरे ।

मेयर आचार्यले गुरुङ र घिमिेरेको नामबाट त्यस क्षेत्रको सडक नामाकरण गर्न महानगरले पहल गरिरहेको बताउँदै विद्यालयको जग्गाको सिमांकनका लागि महानगरले नापी टोली खटाउने बताएका छन् ।

उनले अमरसिंह पोखराको अब्बल शैक्षिक संस्था भएको स्पष्ट पार्दै पछिल्लोपटक राष्ट्रिय विभूतिका नाममा विद्यालयको नामकरण हुनु सुखद् भएको जनाएका छन् ।

कार्यक्रममा उत्कृष्ट शिक्षक माधवराज घिमिरे, भीष्म सुवेदी, रामप्रसाद सुवेदी, हरिनाथ पौडेलले, शान्ता सुवेदी, उत्कृष्ट कर्मचारी शरीरमा भुर्तेल, दृष्टिविहीन शाखाबाट बिताउन चौधरीलाई सम्मान गरिएको थियो ।

दीर्घकालीन सेवा सम्मान गिरीधारी सुवेदी, दुर्गामाया सुवेदी र दीपेन्द्र कार्की प्रदान गरिएको थियो । वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन, आयव्यय र योजनाका बारेमा जानकारी गराएका थिए । उनले अमरसिंह माध्यमिक विद्यालय समावेशी शैक्षिक संस्थाको उत्कृष्ट नमुनाका रुपमा स्थापित हुन सफल भएको बताए ।

विद्यालयमा दृष्टिविहिन, श्रवण दृष्टिविहिन, प्राविधिक, शिक्षा, मानविकि, विज्ञान, व्यवस्थापन लगायतका शाखाहरुमा ५५ भन्दा बढि जिल्लाका विद्यार्थीहरु अध्ययन गरिरहेको बताउँदै समावेशी शैक्षिक संस्थाको उत्कृष्ट नमुना बनेको प्रष्ट्याए ।

Exit mobile version