पोखरामा ‘गो बन्जी’: हिमाल हेर्दै क्यान्टिलिभरबाट सेतीको खोंचतर्फ …

नयाँलिपिः ‘बन्जी’ अर्थात खुट्टामा डोरी बाँधेर तल कुनै नदी, खोंच वा भिरतर्फ हामफाल्ने रोमाञ्चक एवं साहसिक खेल । तर त्यही साहसिक खेलमा हिमाल, नदी र क्यान्टिलिभरको मज्जा लिने हो भने पोखराको रातोपहिरोस्थित ‘गो बन्जी’को विकल्प छैन ।

बन्जीपूर्व जम्पमास्टरद्वारा दिइने सुरक्षाको उपाय र चेतावनीपछि क्यान्टिलिभर ब्रिजतर्फ पाइला चाल्दै गर्दा जुन रोमाञ्चकता महशुस हुन्छ त्यसमा माछापुच्छ्रे र अन्नपूर्णको श्रृृखलाले झनै उत्साह थपिदिन्छ ।

अनि, तल बगेको सेती । हो, सेतीले थोरै डर र चुनौतिको पारो बढाइदिन्छ । त्यसो त चुनौति, साहस र कौतुहलताको त्रिवेणी हो, बन्जी । यही त्रिवेणीको अनुभव लिन कहिलेकाही गो बन्जीमा सयको हाराहारीमा पुग्छन् ‘जम्पर’हरु ।

यस्तै, साहस र रोमाञ्चक बन्जीमा विदेश चाहरेका अनुभवी जम्पमास्टर सन्तोष भट्टराईको चाहना र सपना थियो नेपालमा यस्तै मज्जा अरुलाई पनि दिने । सन्तोषको सोही सपनाले उडान भर्नेक्रममा सन् २०१८ मा पोखरामा जन्मियो ‘बन्जी नेपाल एडभेन्चर्स प्रालि ।’ यद्यपि, कम्पनी भने ‘गो बन्जी’का नामले प्रसिद्धि कमाउँदैछ ।

गो बन्जी जन्मिएपछि सुरु भएको कोरोना कहरले कम्पनीलाई गलाउन नखोजेको होइन तर सिइओ (प्रमुख कार्यकारी अधिकृत) रहेका सन्तोषलाई न आफु गल्नु थियो न त बन्जीलाई गलाउनु ।

त्यसमाथि लन्डनबाट टुरिज्म एण्ड हस्पिटालिटीमा मास्टर्स डिग्री सकाएर आएकी मिना बराल लामाले व्यवस्थापकको भूमिका निभाएपछि आज गो बन्जी साहसिक खेल एवं पर्यटनको ब्राण्ड बनेको छ ।

‘सेफ्टी फस्र्ट’ अर्थात् सुरक्षालाई पहिलो प्राथमिकता दिइएको बन्जीमा मुलतः जम्प गर्दा आवश्यक पर्ने सामग्री अन्तर्राष्ट्रय मापदण्डका रहेका छन् । त्यस्तै, जम्परलाई मदिराजन्य पदार्थमा बन्देज गरिएको छ भने गर्भवति महिलालाई समेत रोक लगाइएको छ ।

जम्परको तौलकोे हिसाबमा सोलोतर्फ ४० देखि १ सय १० केजी र टेन्डममा १ सय ५० केजीसम्म रहेको छ । यसैगरी, कम्पनीले जम्परकोे बीमासमेत गरेको छ ।

गो बन्जी नेपाल मुलुककै पहिलो दर्ता भएको बन्जी कम्पनी हो । अन्य स्थानमा रहेका बन्जीले विभिन्न नाममा कम्पनी दर्ता गरेपनि ‘बन्जी’कै नाम राखेर दर्ता गरिएको भने यो नै पहिलो भएको भट्टराई बताउँछन् ।

यहाँको बन्जीको मूल्यमा एकरुपता छ । प्रायः विदेशी पर्यटकलाई सेवा प्रवाह गर्ने कम्पनीले नेपालीलाई भन्दा बढी मूल्य लिने गरेको पाइन्छ । यद्यपि, कम्पनीले भने समान मूल्य राखेको छ । कम्पनीका अनुसार सोलोलाई ६ हजार ५०० र टेन्डमतर्फ १२ हजार मूल्य कायम गरिएको छ ।

यस मू्ल्यमा स्वदेशी वा विदेशीबीच फरक नरहेको बताउँदै कम्पनीले यही मूल्यमा जम्परलाई पिकअपको सुविधासहित फोटो र भिडियो उपलब्ध गराउँछ ।

कुनैपनि अफर वा स्किम नराखेको कम्पनीले नारी दिवस एवं अन्तर्राष्ट्रिय दिवसहरुमा छूट उपलब्ध गराउँदै आएको छ । साथै, स्थानीयहरुलाई पनि यथाशक्य डिस्काउन्ट दिने गरिएको छ ।

कम्पनीले बन्जीसँगै क्याफेसमेत सञ्चालन गरेको छ । सुरुवाति लगानी करिब ९ करोड रुपैयाँको हाराहारीमा रहेको कम्पनीमा हाल २५ जनाले रोजगारी पाएका छन् ।

रोजगारीमा अधिकाश स्थानियहरु नै छन् । अझ, जम्प मास्टर नै स्थानीय हुन ।

मकाउ, रसिया, सिंगापुर,इन्डोनेसिया, जापानलगायत आधा दर्जन बढि देशम काम गरेको अनुभवी जम्प मास्टर भट्टराइसहित ६ जना स्पेशल क्रियू मेम्बर गो बन्जीमा तैनाथ रहन्छन् ।

गण्डकी प्रदेश सरकारलाई बन्जी संबन्धि कानुन बनाउन पनि गो बन्जीका अन्तराष्ट्रिय जम्प मास्टर भट्टराइले साथ दिईरहेका छन् ।

कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्ने अभिभारास्वरुप आवश्यक सबै स्टाफ सोही क्षेत्रबाट लिएको छ । जसले रोजगारमात्र हैन उनीहरुलाई भविष्यमा व्यापार र व्यावसायिकता सिक्ने थलो उपलब्ध भएको छ ।

Exit mobile version