कास्की कांग्रेस सभापति किशोरदत्तलाई ‘नालायक’ करार, ‘सचिव बेचुवा’को आरोपमा कारवाही माग

दिपक के श्रेष्ठः नेपाल विद्यार्थी संघका ११ केन्द्रिय सदस्यले नेपाली कांग्रेस, कास्की सभापति किशोरदत्त बरालमाथि गम्भीर आरोप लगाउँदै केन्द्रिय अनुशासन समितिसमक्ष कारवाहीको माग गरेका छन् ।

केन्द्रिय सदस्यहरुले आज पोखरामा पत्रकार सम्मेलनमार्फत सभापति बरालले पार्टीलाई बिक्रीमा राखेको भन्दै ‘नालायक’ घोषणा गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पश्चिमाञ्चल अध्ययन संस्थानमा नेविसंघले उम्मेदवारी दिने क्रममा सचिव पदका उम्मेदवार प्रशान्त उपाध्यायको मनोनयन पत्र नै च्यातेर कम्युनिष्ट घटकका विद्यार्थी संगठनलाई सघाएकोसमेत उनीहरुको आरोप छ ।

यसबीच संस्थानको स्ववियु निर्वाचनमा नेविसंघको उम्मेदवारीमा सचिवको समेत नामावली प्रकाशनको माग राखेर क्याम्पस गेटमा तालाबन्दी र रिले अनशन गरेको जनाउँदै उनले त्यहाँ पनि सभापति बरालले प्रहरीलाई बल प्रयोग गर्न लगाएको बताए ।

सोहीक्रममा बरालकाे निर्देशनमा प्रहरी प्रशासन लगाएर अनशनमा बसेका विद्यार्थीलाई लखेट्न्, दोहोरो भिडन्त गराउने, र मुलगेटमा लगाइएको ताला फुटाउने काम गरेको केन्द्रिय सदस्य राजेन्द्र बरालले बताए ।

स्ववियु निर्वाचनमा सभापति बरालले चन्दा उठाएको तर कुनैपनि क्याम्पसका विद्यार्थीलाई प्रचारप्रसारलगायतमा आर्थिक सहयोग नगरेको अर्का सदस्य अन्जान थापाको आरोप छ ।

यसअघि ०७९ सालको स्ववियु निर्वाचनमा पनि पैसा उठाएर कास्की कांग्रेसले विद्यार्थीलाई सहयोग नगरेको आरोप लगाउँदै अर्का सदस्य नसिब गुरुङले चुनाव हारिन्छ भन्दै निष्क्रिय बसेको, भाँड्न अभिप्रेरित गरेको बताए ।

‘कास्कीमा नेविसंघको अधिवेशन गर्न निरन्तर माग गरेपछि ०८० असोजको ३ गते पार्टी कार्यालयमा गरेको तालाबन्दी खोल्यौ’ गुरुङले भने ‘तर आजसम्म यहाँ नेविसंघको अधिवेशन हुन सकेको छैन, नयाँ नेतृत्व बन्न सकेको छैन ।’

हालै सम्पन्न स्ववियु निर्वाचनमा गरेको गुटबन्दी, आर्थिक अनियमितता र नेविसंघको जिल्ला अधिवेशन गराउन नसकेकाकारण सभापति बराल ‘नालायक’ भएको उनीहरुको टिप्पणी छ ।

केन्द्रिय सदस्यहरुले पार्टीका अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानासमक्ष सात दिनभित्र कारवाही माग गरेका छन् । अन्यथा, सशक्त आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

यस विषयमा कास्की सभापतिले भने खण्डन गरेका छन् ।

सभापति बरालको खण्डन जस्ताको तस्तैः
१, क्याम्पसको निर्वाचनमा कसलाई उठाउने, कसलाई नउठाउने भन्ने विषय पार्टी कार्यालयको होइन । विद्यार्थी संघ स्वायत्त छ । उनीहरुले गर्ने कुरा हो ।

मुलतः पश्चिमाञ्चल अध्ययन संस्थानको विषयमा हामीले सविचसहित उम्मेदवारी गराउनुपर्ने भनेको थियौ । तर क्याम्पस प्रशासनले तपाइहरुको यहाँ भूमिका रहन्न, विद्यार्थीहरु जसरी आउँछन्, त्यही सदर हुन्छ भनेपछि हाम्रो केही चलेन ।

क्याम्पस प्रशासनले ‘बाहिरका मान्छेले भनेर हुँदैन’ भनि हामीलाई यस विषयमा टाढै राखिदियो । अर्काे कुरा सचिव बेच्यो भन्ने आरोप छ, मैले अथवा कास्की कांग्रेसले कसलाई बेच्यो ? कसले किन्यो ? यसको जवाफ विद्यार्थी भाइबहिनीहरु सँग होला ।

२, आर्थिक अनियमितताको कुरामा स्पष्ट भन्नुपर्दा हामी सहयोग, चन्दाबाट चल्ने पार्टी होउ । यस सन्दर्भमा विद्यार्थीहरुलाई चुनावमा खर्च आवश्यक पर्ने देखेर हामीले केही शुभचिन्तकबाट पैसा उठाएका हौं । करिब २ लाख रुपैयाँ जम्मा भएको छ । जसको हिसाबकिताब बैंक खाताले देखाउँछ ।

उक्त रकम केही क्याम्पसका विद्यार्थीलाई दिइसकेका छौं । बाँकी के–कति खर्च छ पछि बुझ्नेछौं । कास्की कांग्रेस पारदर्शितामा विश्वास गर्छ । जहाँसम्म मलाइ नालायक भनिएकाे छ, त्याे उहाँहरुकाे साेचाइ र चेतनाकाे तह हाे ।

३, रह्यो कुरा नेविसंघको जिल्ला अधिवेशनको, त्यसमा पार्टी कार्यालयले केन्द्रिय समितिको आग्रह अनुसार समन्वयमात्र गर्न सक्छ । अधिवेशन गर्ने जिम्मेवारी उनीहरुकै केन्द्रिय कार्यसमितिको हो । उनीहरु कोही कता, कोही कता धाउने अध्यक्ष हुने समानान्तर समिति चलाउने गर्दाेका परिणाम पनि हो ।

यथार्थमा भन्दा नेविसंघ जिल्ला समितिको अधिवेशन गराउने दायित्व नेपाली कांग्रेस कास्कीको होइन । उहाँहरु स्वयं केन्द्रिय समितिमा बसेर किन अधिवेशन गरिरहनु भएको छैन ? ११ सदस्य प्रेसमिट गर्नुहुन्छ तर अधिवेशन गराउनु हुँदैन, किन ?

अन्त्यमा, सभापति बरालले भने ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, यहाँ आफ्ना विचार राख्न, विरोध गर्न वा आलोचना गर्न छूट छ । यसले पार्टीलाई नै बलियो बनाउँछ ।’

Exit mobile version