नयाँलिपिः पोखराको लेकसाइडस्थित एक होटेलबाट सोमबार एक अमेरिकी नागरिकको अपहरण भएको थियो ।
अमेरिकी राहदानी वाहक ७० वर्षीया वृद्धा अपहरण परेको सूचनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट ती वृद्धालाई अपहरणमुक्त गरिएको छ ।
वृद्धालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी गराएपछि ती महिलासहित अपहरणमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। उनका अनुसार अपहरणमा पर्नेमा भारतीय मूलको अमेरिकी नागरिक हुन् ।
आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेको र अपहरणपछि तीन लाख युरो (आजको दर अनुसार ४ करोड ४१ लाख रुपैयाँ बढीं) फिरौती माग गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको थियो ।
प्रहरीले अपहरणमा संलग्न भएको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ४ बस्ने वर्ष ३७ की सरिता लामालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेकी सरिता लामाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
अपहरणमा संलग्न महिलालाई जिल्ला अदालत कास्कीबाट बुधबार अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।