नेविसंघले ‘सचिव बेचुवा’ र ‘नालायक’ भनेपछि सभापति किशोरदत्तको जवाफ

नयाँलिपिः नेपाल विद्यार्थी संघका ११ केन्द्रिय सदस्यले आज बिहान पत्रकारसमक्ष कास्की कांग्रेस सभापति किशोरदत्त बराललाई आसन्न स्ववियु निर्वाचनमा सचिव पद बेचेको आरोप लगाएका छन् ।

सदस्यहरुले यससँगै सभापति बराललाई चुनावको नाममा चन्दा उठाएर हिसाब नदेखाएको र नेविसंघको कास्की अधिवेशनसमेत नगराएको आरोप लगाउँदै बराललाई ‘नालायक’को संज्ञा दिएका थिए ।

यसै विषयमा सभापति बरालको खण्डन जस्ताको तस्तैः
१, क्याम्पसको निर्वाचनमा कसलाई उठाउने, कसलाई नउठाउने भन्ने विषय पार्टी कार्यालयको होइन । विद्यार्थी संघ स्वायत्त छ । उनीहरुले गर्ने कुरा हो ।

मुलतः पश्चिमाञ्चल अध्ययन संस्थानको विषयमा हामीले सविचसहित उम्मेदवारी गराउनुपर्ने भनेको थियौ । तर क्याम्पस प्रशासनले तपाइहरुको यहाँ भूमिका रहन्न, विद्यार्थीहरु जसरी आउँछन्, त्यही सदर हुन्छ भनेपछि हाम्रो केही चलेन ।

क्याम्पस प्रशासनले ‘बाहिरका मान्छेले भनेर हुँदैन’ भनि हामीलाई यस विषयमा टाढै राखिदियो । अर्को कुरा सचिव बेच्यो भन्ने आरोप छ, मैले अथवा कास्की कांग्रेसले कसलाई बेच्यो ? कसले किन्यो ? यसको जवाफ विद्यार्थी भाइबहिनीहरुसँग होला ।

२, आर्थिक अनियमितताको कुरामा स्पष्ट भन्नुपर्दा हामी सहयोग, चन्दाबाट चल्ने पार्टी होउ । यस सन्दर्भमा विद्यार्थीहरुलाई चुनावमा खर्च आवश्यक पर्ने देखेर हामीले केही शुभचिन्तकबाट पैसा उठाएका हौं । करिब २ लाख रुपैयाँ जम्मा भएको छ । जसको हिसाबकिताब बैंक खाताले देखाउँछ ।

उक्त रकम केही क्याम्पसका विद्यार्थीलाई दिइसकेका छौं । बाँकी के–कति खर्च छ पछि बुझ्नेछौं । कास्की कांग्रेस पारदर्शितामा विश्वास गर्छ । जहाँसम्म मलाइ नालायक भनिएको छ, त्यो उहाँहरुको सोचाइ र चेतनाको तह हो ।

३, रह्यो कुरा नेविसंघको जिल्ला अधिवेशनको, त्यसमा पार्टी कार्यालयले केन्द्रिय समितिको आग्रह अनुसार समन्वयमात्र गर्न सक्छ । अधिवेशन गर्ने जिम्मेवारी उनीहरुकै केन्द्रिय कार्यसमितिको हो । उनीहरु कोही कता, कोही कता धाउने अध्यक्ष हुने समानान्तर समिति चलाउने गर्दाकाे परिणाम पनि हो ।

यथार्थमा भन्दा नेविसंघ जिल्ला समितिको अधिवेशन गराउने दायित्व नेपाली कांग्रेस कास्कीको होइन । उहाँहरु स्वयं केन्द्रिय समितिमा बसेर किन अधिवेशन गरिरहनु भएको छैन ? ११ सदस्य प्रेसमिट गर्नुहुन्छ तर अधिवेशन गराउनु हुँदैन, किन ?

अन्त्यमा, सभापति बरालले भने ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, यहाँ आफ्ना विचार राख्न, विरोध गर्न वा आलोचना गर्न छूट छ । यसले पार्टीलाई नै बलियो बनाउँछ ।’

Exit mobile version