डिस्प्लेमा ‘केपी चोर देश छोड’ देखिएपछि ४० जनाको दस्ताबाट चुटिए प्राधिकरण प्रमुख रामु

नयाँलिपिः नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको छ ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो ।

आक्रमणबाट कम्प्युटर, टेबललगायतका सामान फुटेका छन् । केन्द्रको डिस्प्ले बोर्डमा सोमबार अपरान्ह १२ बजे ‘केपी चोर देश छोड’ देखिएको थियो ।

यस विषयमा सम्बन्धित ह्याकर पत्ता लगाई कानूनी दायरामा ल्याउने माग गरिरहेकाबेला आज बिहान १० बजे ३०–४० जनाको समूहले प्रमुखको कार्यकक्षमा पसि विभिन्न सामग्री तोडफोड गर्नुकासाथै प्रमुखमाथि कुटपिट भएको कर्मचारीले जनाएका छन् ।

यस घटनाबाट कर्मचारीहरुले असुरक्षित महशुस गरेको भन्दै उक्त दस्ताको पहिचान गरी कानुनी कारवाहीको माग गरेका छन् ।

घटनापश्चात् केन्द्र प्रमुख श्रेष्ठले चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई विषयवस्तुबारे ब्रिफिङ गरी बिदामा बस्ने जानकारी दिएका छन् ।

प्रजिअ पौडेलले घटनाको छानबिन गरी कारवाही अघि बढाउन निर्देशन दिएको प्रशासनका प्रशासकीय अधिकृत विकास खनालले नयाँलिपिलई बताएका छन् ।

Exit mobile version