राजावादीद्वारा नापी विभागको वेबसाइट ह्याक, पुरानो राष्ट्र गान ‘श्रीमान् गम्भीर’ अपलोड

नयाँलिपिः आफूलाई ‘ह्याक्टिभिस्ट नेपाल’ नामले चिनाउने एक ह्याकर समूहले सरकारी वेबसाइटहरूमा आक्रमण तीव्र बनाएको छ ।

टेकपानाका अनुसार पछिल्लो पटक यस समूहले नापी विभागको वेबसाइट (dos.gov.np) ह्याक गर्दै त्यसमा स्वर्गीय राजा विरेन्द्रको फोटो र ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लेखेको छ ।

शुक्रबार मेसेजिङ एप टेलिग्राममा सूचना पोस्ट गर्दै ह्याकर समूहले नापी विभागको वेबसाइट आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको हो । वेबसाइट खोल्दा हाल राष्ट्र र राजसंस्थाप्रति समर्थन जनाउने सन्देशसहित फोटो र भिडिओ सामग्री देखिन्छ ।

“नेपालमा लोकतन्त्रका कारण भ्रष्टाचारको स्तर उच्चतम बिन्दुमा पुगेको छ,” उक्त समूहले लेखेको छ । राजनीतिक अस्थिरता र पार्टीगत स्वार्थले जनताको भलाइको स्थानमा व्यक्तिगत फाइदालाई प्राथमिकता दिएका छन् ।

ह्याक्टिभिस्ट नेपाल राजतन्त्रको पुनर्स्थापना पक्षमा रहेको छ, जसले राष्ट्रिय एकता, दीर्घकालीन स्थिरता र भ्रष्टाचारमुक्त शासनको सम्भावना खोल्न सक्छ, र नेपालको सही मार्गदर्शन सुनिश्चित गर्न सक्छ ।”

उक्त समूहले नापी विभागको वेबसाइटमा पुरानो राष्ट्र गान ‘श्रीमान् गम्भीर’ समेत अपलोड गरेको छ । त्यस्तै डिजिटल युगमा सुरक्षा भ्रम मात्र भएको भन्दै आफूलाई इन्टरनेटको पहरेदार भएको दाबी गरेको छ ।

यसअघि बुधबार ‘ह्याक्टिभिस्ट नेपाल’ ले भन्सार विभागको वेबसाइट ह्याक गरेको दाबी गरेको थियो । टेलिग्राम च्यानलमा उक्त समूहले भिडिओ पनि राखेको छ । त्यसमा पनि राजालाई समर्थन गरिएको थियो । अहिले भने उक्त वेबसाइट सामान्य अवस्थामा फर्किएको छ ।

त्यस्तै आफूलाई राजावादी ह्याकर समूह भनेर चिनाउने (१८०० ह्याकर) नामको समूहले हालै डिभिजन वन कार्यालय सुनसरीको वेबसाइट ह्याक गरी प्रधानमन्त्री केपी शर्मा ओलीको एआई जेनेरेटेड भिडिओसहित अश्लील गीत पोस्ट गरेको थियो ।

Exit mobile version