पश्चिमाञ्चल अस्पतालमा बीमा रिफन्ड गडबडीबारे बुझाइयो प्रतिवेदन, आज फाइल खोलिँदै

दिपक के श्रेष्ठः पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा स्वास्थ्य बीमाअन्तरगत सेवा लिने बिरामीलाई उनीहरुले बुझाउने १० प्रतिशत रकम रिफन्ड (पुनः फर्काउने) नगरिएको पाइए पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फागुन २० गते छानबीन गर्न अध्ययन कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले फागुनकै २५ गते अध्ययन प्रतिवेदन बुझाउने समयसीमा राखेपनि विस्तृतमा अध्ययन गर्न समय लाग्दा चैत १ गते प्रतिवेदन बुझाएको छ ।

बीमाअन्तरगतको सेवाग्राहीले उक्त रकम सोही दिन बेलुकी वा उपचारपश्चात् फिर्ता पाउने प्रावधान रहेको बताइएको छ । तर प्रायः बिरामीले त्यतापट्टि ध्यान नदिँदा उक्त रकम बीमाको काउन्टरबाट हराउने गरेको आशंकापछि कार्यदलमार्फत छानबीन सुरु गरिएको थियो।

प्रतिष्ठानले फागुन २५ गतेसम्म छानबीनको प्रतिवेदन बुझाउन शाखा अधिकृत सुशिलकुमार अर्यालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो ।

संयोजक अर्यालले नयाँलिपिसँग भने ‘कार्यदलले चैत १ गते प्रतिवेदन बुझाएको छ, अब त्यसबारे प्रतिष्ठानले अध्ययन गरेर प्रक्रिया अघि बढाउने छ ।’ उनका अनुसार कार्यकारी परिषदले अब बाँकी कामको जिम्मा लिनेछ ।

प्रतिवेदनमा के उल्लेख गरिएको छ भन्ने विषयमा बोल्न नमिल्ने भन्दै अर्यालले परिषदका पदाधिकारीलेमात्रै प्रतिक्रिया दिन मिल्ने उल्लेख गरे ।

यस विषयमा प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले कार्यदलले बुझाएको प्रतिवेदनउपर बैठकमा छलफल हुने बताउँदैै आजै बैठक डाकेर फाइल खोल्ने तयारी भइरहेको बताए ।

उक्त प्रतिवेदन र आगामी प्रक्रियाबारे पछि विस्तृतमा जानकारी दिने निर्देशक खत्रीले जनाएका छन् ।

बीमाको काउन्टरबाट हुने रिफन्डसम्बन्धी डेटा चित्तबुझ्दो नदेखिएको र ‘कम्प्युटरमा रहेका डेटा केही अस्वभाविक र अविश्वसनीय लागेपछि छानबीन सुरु भएको हो ।

यसैबीच, सेवाग्राहीबाट पछिल्लो समय छिटफुट गुनासो आउन थालेपछि तथ्य पत्ता लगाउन प्रतिष्ठान जुटेको छ ।

Exit mobile version