नयाँलिपिः पूर्वराजा ज्ञानेन्द्र शाहले आज रामबजारस्थित विरेन्द्रचोकमा अवस्थित राजा विरेन्द्र शाहको शालिक अनावरण गरेका छन् ।
निर्धारित समयभन्दा झण्डै २ घण्टा ढिलो कार्यक्रमस्थ पुगेका शाहलाई समर्थक र शुभचिन्तकहरुले पुष्पगुच्छा अर्पणसहित स्वागत गरेका थिए ।
पोखरा विरेन्द्रचोकको शालिक ०६२–६३ को आन्दोलनताका तोडफोड गरिएको थियो । त्यसपश्चात् २५ लाख रुपैयाँको लगानीमा ८ फिटे पित्तलको पूर्णकदको शालिक निर्माण गरिएको थियो ।
पूर्वराजाको पोखरा भ्रमणकाक्रममा उक्त शालिक आज अनावरण गरिएको हो । अनावरणकाक्रममा विरेन्द्र शाहको शालिक निर्माण समितिले राजतन्त्रको पक्षमा नाराबाजीसमेत गरेका छन् ।

हालको शालिक अघिल्लो वर्ष पुसमा निर्माण गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता क्षेत्रबहादुर केसीको नेतृत्वमा २०५९ सालमा शालिक स्थापना गरिएको थियो । क्षेत्रबहादुरलाई तत्कालीन विद्रोही माओवादीले गोली हानी हत्या गरेका थिए ।