एबीसी अवतरणमा हेलिकप्टरलाई १० हजार शूल्क, अटेर गरे २० हजार

दिपक के श्रेष्ठः अन्नपूर्ण गाउँपालिकाअन्तरगत पर्ने अन्नपूर्ण बेस क्याम्प (एबीसी)मा अवतरण गर्न हेलिकप्टर कम्पनीले १० हजार रुपैयाँ शूल्क तिर्नुपर्ने भएको छ । विशेषतः पर्यटकीय व्यवसायमा संलग्न हेलिकप्टरमाथि उक्त शूल्क लगाइएको हो ।

पालिका र हेलिकप्टर कम्पनीबीच बुधबार यस विषयमा सम्झौता भएको पालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले जानकारी दिइन् ।

उपाध्यक्ष अधिकारीका अनुसार पालिकावासी, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप), हेलिकप्टर कम्पनी र पर्यटन मन्त्रालय गण्डकी प्रदेश र जनप्रतिनिधिबीचको छलफलपछि सम्झौता भएको हो ।

सम्झौताअनुसार अब एबीसी क्षेत्रमा हेलिकप्टर अवतरण गर्न कम्पनीले पालिकाको खातामा १० हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ । सम्झौता बुधबारैबाट सुरु भएको अधिकारीले बताइन् ।

सम्झौताकालागि १ वर्षअघिदेखि प्रयास गरेको भएपनि सिम्रिक एयर दुर्घटनामा परेपछि उक्त सम्झौता हुन सकेको थिएन । हाल एबीसीमा सिम्रिक एयर र प्रभु हेलिकप्टर प्रालिले दृश्यावलोकन गराउँदै आएका छन् ।

यस आर्थिक वर्षमा २ सय ७० हाराहारीमा व्यावसायिक उडान भएको पालिकाको तथ्यांकमा उल्लेख छ ।

शूल्कको ३ प्रतिशत रकम भने पर्यटन सूचना केन्द्रले पाउने शर्त राखिएको छ भने अन्य रकम एबीसी क्षेत्र ओगटेको वडा नम्बर ११ को विकासमा खर्च गरिनेछ ।

‘उक्त क्षेत्र ११ नम्बरमा पर्ने भएकाले त्यही खर्च गर्ने योजना छ, यद्यपि, पालिकाका अन्य वडाको हितमा पनि खर्चिनेछौं’ उपाध्यक्ष अधिकारीको भनाई छ ।

एबीसीमा उडान भर्ने कम्पनीले छुट्टै ५ हजार रुपैयाँ तिरेर सुचीकृत गर्ने सम्झौतासमेत भएको छ । पालिकामा सूचीकृत नहुने कम्पनीले उडान भर्न पाउने छैनन् ।

‘तर पर्यटकको उद्धार एवं जोखिम र प्राकृतिक विपतकाबेला मानवीय सेवाकालागि भने अवतरण शूल्क लिइने छैन’ अधिकारीले प्रष्ट्याइन् ।

कम्पनी सूचीकृत नगरी आफुखुशी गरे २० हजार रुपैयाँ असुलिने पालिकाको निर्णय रहेको छ । हाल सिम्रिकसँग सम्झौता भइसकेको र प्रभुले सूचीकृत गर्ने बताएको पालिकाले जनाएको छ ।

तस्बिर सौजन्यः अल्टिच्युड एयर

Exit mobile version