पुग्यो राष्ट्रिय प्रशारण, उज्यालियो मनाङ

नयाँलिपिः मनाङको पर्यटकीयस्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) र थोराङ्ला भञ्ज्याङ सम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भए सँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारमा ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति दिन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि धेरै सहज भएको बताए । उनले भने, “राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्प बाट तिलिचो ताल जाने पैदलयात्रीका साथै स्थानीयलाई सहज भएको छ, विद्युत् उपयोगमा वृद्धि भएको छ, पानी उमाल्न पनि बिजुली नै प्रयोग गर्न थालेका छौँ, जसले गर्दा ग्यासको खपत कम भएको छ ।”

प्राधिकरणले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तर्गत तिलिचो तालको बेस क्याम्प सम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याएको जनाएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुको राधी साना जलविद्युत् केन्द्रको सबस्टेसन बाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्यु ३३/११ केभी सबस्टेसनमा पुगेको छ । सबस्टेसन बाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्‍याइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएको बेला साना जलविद्युत केन्द्र बाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए ।

मस्र्याङ्दी करिडोर २ सय २० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा दुई सय २० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँ बाट विद्युत् प्रवाह भइरहेको र मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।
रासस

Exit mobile version