दिपक के श्रेष्ठ
पोखराको नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा आजदेखि ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’ सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन गर्दै सातै प्रदेशमा प्रतिष्ठानले प्रदर्शनीका्े कार्यक्रम गरिरहेको बताए ।
पोखरालाई कला र संस्कृतिको शहर भएको भन्दै उनले अपेक्षित कलाकार र कलाको प्रदर्शनी अझै हुन नसकेको बताए ।
‘संघीय लोकतान्त्रिक व्यवस्थामा कलाले संस्कृति र पहिचानको अर्थ बोकेको हुन्छ’ हार्तम्छालीले भने ‘कलाकारले सिर्जनशीलतालाई निरन्तरता दिएर सामाजिक संरचनालाई बलियो बनाउनु पर्छ ।’
प्रदर्शनीको उद्घाटन गर्न आयोजकद्वय ललिलतकला र गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री बिन्दुकुमार थापालाई निम्त्याएको थियो ।
निर्धारित समयभन्दा २ घण्टा बढी समय कुरेपनि मन्त्री थापा नआएपछि कुलपति हार्तम्छालीले प्रदर्शनी उद्घाटन गरेका हुन् ।
कार्यक्रमका दौरान गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ निकै छटपटीमा थिए । मन्त्री र स्वकीयलाई बाराम्बार फोन गरेर कार्यक्रममा कुरिरहेको बताएपनि अन्ततः मन्त्री थापा आएनन् ।
आकस्मिक बैठकका कारण मन्त्री आउन नसक्ने जानकारी पाएपछि उद्घाटन कुलपतिबाट गरिएको हो ।
यसअघि आयोजकले मन्त्री थापालाई प्रमुख अतिथिकारुपमा निम्त्याएको निम्तोपत्र बाँडिसकेको थियो भने यसको जानकारी काठमाण्डौंमा पनि गराइसकिएको थियो ।
प्रदर्शनीमा गण्डकी क्षेत्रका ७० कलाकारका ९० कला राखिएको छ । उद्घाटनसत्रमा यस क्षेत्रका विभिन्न अग्रज कलाकारलाई सम्मानसमेत गरिएको छ ।
आगामी ८ गतेसम्म चल्ने प्रदर्शनीबाट छनौट भएका कलाकृतिलाई काठमाण्डौमा प्रदर्शनमा राखिनेछ । त्यहाँ उत्कृष्ट ठहरिएका कलाकारलाई सम्मान गरिने बताइएको छ ।
प्रदर्शनीको प्रवद्र्धकमा काठमाण्डौं ट्राइनल्स र नेपाल पर्यटन बोर्ड रहेको छ भने सिर्जनशील कलाकार समूहले सहकार्य गरेको छ ।