रविका फैसला नजिकिँदा सुरक्षामा कडाई, आसपासका क्षेत्र फेरि ‘निषेधित’

नयाँलिपिः सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रगतिवादीहरूको थुनछेक बहस आज सक्ने तयारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भइरहेको छ।

सम्भव भएसम्म आज बेलुकीसम्ममा बाँकी ३ जना प्रतिवादीहरू कृष्णबहादुर गुरुङ, आरती गुरुङ, र पूर्वसांसद मीना गुरुङका तर्फबाट कानुन व्यवसायीहरूको बहस सक्ने तयारी गरिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

यसैबीच अदालत जाने मार्गमा रहेका सडक क्षेत्रमा हाल सवारी साधन चल्न रोक लगाइएको छ । हुलहुज्जत हुनसक्ने र प्रतिवादीको सुरक्षाकाखातिर प्रहरीको अनुरोधमा सवारीसाधन त्यसतर्फ नलैजान चालकलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

‘त्यसो त प्रशासन कार्यालय आसपासका क्षेत्र संवेदनशील एरिया हो, देशकै ध्यान खिच्ने मुद्दाको फैंसला नजिकिँदा उच्छृखंल गतिविधि नहोस् भनेर केही समय सवारीसाधन ‘निषेध’ गरिएको हो’ लम्सालले भने ।

रास्वपा समर्थक र सहकारीपीडित दुबैकाे सुरक्षालाइ ध्यानमा राखेर प्रहरीसँगकाे सहकायर्यमा उक्त कदम चालिएकाे लम्साल बताउँछन् ।

उक्त क्षेत्रमा अझै केहि दिन सवारीसाधन र भीडलाई निषेध नै गरिनेसमेत उनले जनाएका छन् । यद्यपि, पर्यटक नम्बर प्लेट र अत्यावश्यक सवारी साधन निर्वाध चलिरहेको प्रशासनले जनाएको छ ।

जबाफी बहस सकिएपछि अदालतले प्रतिवादीहरू सबै वा केहीलाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्ने छ।

फाइल तस्बिर

Exit mobile version