नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीशसँगको बयान सकिएको छ ।
मंगलबार जिल्ला अदालत कास्कीमा रविसहित ७ जनाको बयान सकिएको हो । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ ।
उनीहरुसँगको बयान सकिएसँगै मंगलबार नै थुनछेक बहस शुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । शुरुमा अभियोजन पक्ष सरकारी वकिलले बहस गर्नेछन्।
त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। पुनः अभियोजन पक्षले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ।
सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।