रविको फैसला आज, छुट्ने आशमा समर्थक र शुभचिन्तक भेला हुँदै

नयाँलिपिः पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहितका प्रतिवादीहरूको बहस सकिए पछि बुधबार जाहेरवाला सहकारी पीडित पक्षका कानून व्यवसायीले जवाफी बहस गरेका छन् ।

आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गते देखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।

प्रतिवादीहरुकातर्फबाट कानूनी व्यवसायीहरुको बहस सकिए पछि जवाफी बहस शुरु भएको अदालतले जनाएको छ ।

रास्वपा समर्थक उत्साही, अदालत आसपास निषेधित कफ्र्यु
अदालतमा थुनछेक बहस शुरु भएपछि यतिबेला रास्वपाका नेता, कार्यकता र शुभचिन्तकहरु अदालत आसपास भेला हुन थालेका छन् । सहकारी पीडितहरु पनि रवि थुनामुक्त हुनसक्ने आँकलन गर्दै सोही क्षेत्रमा जम्मा हुँदैछन् ।

रविको पक्षमा फैसला हुने आशमा उत्साही कार्यकर्ताहरु काठमाण्डौं र चितवनलगायतका स्थानबाट पोखरा आइपुगेका छन् । सोही कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मंगलबारदेखि नै संवेदनशील क्षेत्र जिल्ला प्रशासन, अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

जिल्ला प्रशासन कार्यालयले सहिद चोक, राष्ट्रबैंक चोक र वाइचोकमा अघोषित कफ्र्यु लगाएको छ । सहायक जिल्ला प्रशासक शिव लम्सालले देशकै चर्चित व्यक्ति र मुद्दालाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरेको बताए ।

‘कसैलाई दुख दिने नियत नभई प्रहरीसँगकै समन्वयमा सुरक्षालाई ध्यानमा राखि आवागमनमामात्रैै निषेध गरिएको हो’ लम्सालले भने ।

Exit mobile version