कांग्रेसलाई ‘गतिशील’ बनाउन पोखरा आएका गगन भन्छन्ः ‘पपुलर मतलाई सरकार दिउ’

नयाँलिपिः नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज दिनभर पोखरामा व्यस्त रहे । बिहान विमानमार्फत पोखरा उत्रिएको केही समयपछि नै न्यूरोडस्थित दीपसागर होटलमा पुगेका महामन्त्री थापा दिनभर गण्डकी प्रदेशका पदाधिकारी र कार्यकर्तासँग व्यस्त रहे ।

कांग्रेसको केन्दीय कमिटीद्वारा निर्देशित अभिमुखिकरणमा थापाले निर्वाचनमा सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने धारणा राखे । स्थिर सरकार चलाउन निर्वाचन प्रणाली बाधक भएको बताउँदै उनले भने, ‘निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था संशोधन गर्नुपर्छ ।’

कांग्रेस गण्डकी प्रदेशस्तरीय कार्यक्रममा थापाले भने, ‘निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले पाँच वर्ष सरकार चलाउन पाउँदैन । जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’ अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको भन्दै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको बताए ।

अहिलेको समावेशितालाई कायम राख्दै लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्ने व्यवस्था संविधानमा गर्नुपर्ने उनको धारणा छ ।

‘जर्मनीमा १५ वर्ष २० वर्ष लगातार गठबन्धनको सरकार चल्यो । नचल्ने होइन । गठबन्धनको सरकार चलाउने एउटा संस्कार, संस्कृति हुन्छ,’उनले भने, ‘हाम्रो सन्दर्भमा त्यो फिट भएन भन्न मिल्छ । त्यसो भए के हुनुपर्छ ? त्यसोभए जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’

यसै विषयमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि केही अघि नयाँलिपिसँग कुरा गर्दै आगामी निर्वाचनमा कुनैपनि पार्टीले बहुमत नल्याउने भन्दै यस्तै धारणा राखेका थिए । स्मरणीय छ, उनै महतलाई थापाले अघिल्लो महाधिवेशनमा पराजित गरेका हुन् ।

यस अभिमुखीकरणलाई आगामी महाधिवेशनलक्षित गृहकार्य पनि ठानिएको छ । कांग्रेसभित्र संस्थापन र इतरका नाममा गुट रहेको छ । यतिबेला विभिन्न केन्द्रीय नेताहरु प्रशिक्षण र अभिमुखीकरणको नाममा १५ औं महाधिवेशनको तयारीमा जुटिरहेका छन् ।

अभिमुखीकरणमा प्रदेश, क्षेत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको थियो ।

Exit mobile version