हाल प्रतिनिधिसभामा सांसद रहेका डा प्रकाशशरण महत नेपाली कांग्रेसका प्रवक्ता हुन् भने अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । परराष्ट्र मामिलामान्त्री समेत रहिसकेका महत अमेरिकाको इलिनोइस विश्वविद्यालयबाट दीक्षित हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा गगन थापाबाट महामन्त्रीमा पराजित उनी पार्टीभित्र सभापति शेरबहादुर देउवाका ‘लिगेसी’ मानिन्छन् । ०८२ भित्र कांग्रेसले १५ औं महाधिवेशन गर्नुपर्नेछ । जसमा महत सभापतिको सम्भावित उम्मेदवार पनि हुन् । उनै महतसँग सम्वाददाता दिपक के श्रेष्ठले गरेको कुराकानीको संक्षिप्त सारः
अहिलेको सरकारलाई १० मा कति नम्बर दिनुहुन्छ ?
– नम्बर दिएर भन्नु भन्दा पनि सरकार सफल वा असफल भन्नेमा कुरा गर्न ठिक हुन्छ । यसअर्थमा सरकारले काम गरिरहेको छ । झट्ट हेर्दा नतीजा नदेखिएको हुनसक्छ । तर सफलतातर्फ सरकार उन्मुख छ । हाम्रा आवश्यकता धेरै छन्, काम गर्नुपर्ने धेरै छन् । सरकारले कोशिस गरिरहेको छ ।
अनि अर्थमन्त्रीको काम ?
– उहाँ काम गरिरहनु भएको छ । यद्यपि, सुरुवाति बिन्दूबाट हालसम्म उही स्थानमा हुनुहुन्छ । व्यक्तिगतरुपमा जान मिल्दैन । मैलेपनि अर्थमन्त्रीको काम गरिसकेको छु । अहिले निजी क्षेत्रलाई फराकिलो ढंगले अघि बढाउन सकिएको छैन । सिमित स्रोत, साधन छ । बिना परिणामको काम रोक्नुपर्छ । उत्पादनमूखी र परिणाममुखी काम गर्न पर्नेछ । सरकारी खर्चमा मितव्ययिता र अनुशासित हुन अझै नसकेको हो कि भन्ने छ । वैदेशिक लगानी बढ्न सकेको छैन । यतापट्टि अलि काम हुन नसकेको हो कि !
डेमेक्रयाट्सको तुलनामा कम्युनिष्ट सरकाले वैदेशिक लगानी भित्र्याउन नसकेको हो ?– त्यसरी हेर्न त म चाहँदैन । तथापी नेपाली कांग्रेसको ट्रयाक रेकर्ड अन्तर्राष्ट्रिय क्षेत्रमा अग्रणी छ । लगानी जति बढ्यो उति आर्थिक वृद्धि हुन्छ । रोजगारी श्रृजना र राजश्व वृद्धि हुन्छ । वैदेशिक लगानीमा विश्वासको वातावरण प्रमुख हो, मेरो पालाको रेकर्ड राम्रो छ । रेटिङअनुसार अहिलेको अवस्था सन्तोषजनक देखिन्छ । मुलतः विश्वासको निर्माण र नियम कानूनमा परिमार्जन आवश्यक देखिन्छ ।
प्रधानमन्त्री केपी ओलीले केहि दिन अघि ‘अब १८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हो’ भन्नु भएको छ । यो सहमति नै हो कि विश्वास ?
– यो सहमति नै भएको छ । यसलाई सातबुँदेमा समेटिएको छ । पछिल्लो टर्म देउवा प्रधानमन्त्री हुने र आम निर्वाचन सम्पन्न गर्ने भन्ने छ । यसमा ढुक्क हुनुहोस्, दायाँ बायाँ हुँदैन ।
त्यसपछि पनि समीकरणमै सरकार बन्छ कि कांग्रेसले बहुमत ल्याउँला ?
– समीकरण नै हुन्छ नि । कसैले बहुमत ल्याउने सम्भावना छैन । त्यसपछि त समीकरणको विकल्प नै छैन । कांग्रेसको पुग्दैन, अरुको पनि पुग्दैन । ४० प्रतिशत समानुपातिकबाट आउने भनेपछि सबैको सम्भावना क्षीण छ । हाम्रो मिश्रित प्रणालीमा निर्वाचनको व्यवस्था भएकाले बहुमत कसैको पनि आउँदैन । गठबन्धन गर्नुपर्ने बाध्यकारी अवस्था नै छ । संविधान संशोधनको विषय उठेको पनि यही कारण हो ।
रास्वपा सभाति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्ने छ नि ?
– नेपाली कांग्रेस सबैभन्दा बढी लोकतान्त्रिक र उदार पार्टी हो । अरुले के सोचेका छन्, थाहा भएन तर माओवादीलाई द्वन्द्वबाट संसदमा ल्याउने पार्टी कांग्रेस हो । त्यसबेला हाम्रा मान्छे मारिँदा पनि मनमा कुनै तुष नलिई माओवादीलाई सरकारमा लाने हामी हौं भने रविजीसँग हाम्रो के को दुष्मनी । उहाँसँग हाम्रो कुनै प्रतिशोध पूर्वाग्रह राख्नै कारणै छैन, त्यस्तो सोचिएको छ भने त्यो उहाँहरुको गलत बुझाई हो । यहि विषयमा हाम्रा पार्टीका कतिपय सिनियर नेतामाथि आरोप लगाइएको छ । रास्वपाले रविलाई निर्दाेष भनिरहेको छ, हामीलाई पनि त्यस्तै लाग्छ । तर कानूनी प्रक्रियाबाट त जानै प¥यो । नेपाली कांग्रेस निष्पक्ष छानबीनको पक्षमा छ ।
१५ औं महाधिवेशनमा तपाइ सभापतिको दाबेदार हो ?
– महाधिवेशनको समय अझै बाँकी छ । विशेष परिस्थितिमा १ वर्ष अवधि थप्ने प्रावधान पनि छ । अहिले नै म सभापतिमा दाबी गर्ने कुरा महत्वपूर्ण हैन । मुख्य कुरा पार्टीलाई एकबद्धरुपमा अघि बढाउने, व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्ने र पार्टीलाई बलियो बनाउने हो । अहिले नै दौड लगाउनु पर्छ भन्ने छैन तर योग्यता, क्षमता र विश्वसनीयतामा म कमजोर छैन । उपयुक्त समय आएपछि आफुलाई प्रस्तुत गरिहाल्छु ।
०८४ मा कांग्रेस एक्लै चुनाव लड्न सक्षम छ ?
– हाम्रो बैठकमा अब एक्लै चुनाव लड्नुपर्छ भन्ने आवाज उठिरहेको छ । पार्टीको तल्लो पंक्तिको पनि यही राय, सुझाव छ । र, कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने मान्यतामै छ । चुनावभन्दा पहिले पार्टीलाई नै एक ढिक्का बनाएर लैजानु हाम्रो मुख्य काम हो । व्यक्तिवादी चिन्तन कतिपय अवस्थामा समस्या बन्ने रहेछ । एक्लै चुनाव लड्न पहिला हामी बलियो बन्नु छ । शक्ति एकीकृत गर्न जरुरी छ । हामीभित्र गठबन्धन भयो, एकता भयो भने बल्ल एक्लै लड्न सकिन्छ । यतापट्टि अब कांग्रेस लाग्छ र लाग्नै पर्छ । ०८४ लाई मध्यनजर गर्दै अब हामीबीचको मतभेद अन्त्य गर्ने समय हो ।