कांग्रेस–एमालेको अप्रत्याशित मिलनमा ‘स्वार्थ’ छः नेता पुन

काठमाडौंः नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमालेको अप्रत्यासित मिलनभित्र स्वार्थ लुकेको भन्दै माओवादीको बाटो फरक भएको बताएका छन् ।

पार्टीको तेस्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले २०६२–०६३ को आन्दोलनअघि निरंकुशताविरुद्धको आन्दोलनका लागि १२ बुँदे सहमतिबाट शुरु भएको दुई दलसँगको सहकार्य संविधान निर्माणपछिको ९ वर्षमा कमजोर भएको बताएका हुन् ।

कांग्रेस–एमालेले गणतन्त्रलाई सीमित बिचौलिया, दलाल र भ्रष्टहरूको मात्र सीमित गर्ने कोसिसमा र आफूहरू बहुसंख्यकको गणतन्त्र बनाउने प्रयासमा रहेको उनको अनुमान छ ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारी र तस्करहरूलाई नियन्त्रण गर्न थालेपछि कांग्रेस र एमाले अप्रत्याशित रुपमा मिलेको उनको भनाइ छ ।

कांगेस र एमालेलाई पुराना संसदवादी दलको संज्ञा दिँदै पुनले कांग्रेस–एमाले एउटा कित्ताका र आफूहरू अर्को कित्ताको भन्ने जनताले स्पष्ट रुपमा बुझेको बताए ।

संसारमा कहीँ पनि प्रमुख दुई दल मिलेर सरकार चलाएको रेकर्ड नभएको चर्चा गर्दै पुनले सुशासनको अभियान थाल्दा आफूहरूलाई सरकारबाहिर आएपछि जनताले विगतको तुलनामा बढी माया गरेको उनको भनाइ थियो ।

Exit mobile version