प्रधानमन्त्री कोषमा पोेखरा महानगरको ४५ लाख, मादीले १० लाख दिने

पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि रु ४५ लाख सहयोग प्रदान गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

महानगरका तर्फबाट अत्याधुनिक एम्बुलेन्ससहित राहत सामग्री, स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको उनले बताए ।

प्राकृतिक विपद्को घडीमा राहत तथा उद्धार कार्य एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने भनाइ छ ।

राहत तथा उद्धारका लागि महानगरपालिकाले सम्बद्ध निकायसँग सम्पर्क, समन्वय र सहजीकरण गरिरहेको प्रमुख आचार्यले बताए ।

त्यस्तै, कास्कीको मादी गाउँपालिकाले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।

बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लाका नागरिक प्रभावित भएका थिए ।

तस्बिरः सीबीएस न्यूज

Scroll to Top