आफखुशी राहत र चन्दा नउठाउन कास्की प्रशासनको चेतावनी

जिल्ला प्रशासन कार्यालय कास्कीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि जथाभावी राहत र चन्दा संकलन नगर्न आग्रह गरेको छ।

बुधबार बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाका तटीय क्षेत्रहरूमा रहने नागरिकहरू प्रभावित बनेका छन्।

बाढी गए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरूलाई तीव्रता दिएको र मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रशासनले जनाएको छ।

विपदबाट प्रभावितहरूलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने र उनीहरूको दीर्घकालीन रूपमा पुनःस्थापना गर्न उत्तिकै जरुरी रहेको सूचनामा उल्लेख छ।

यस्तो विषम परिस्थितिमा केही व्यक्ति, संस्था वा समूहले आफुखुसी राहत तथा चन्दा संकलन गरेको सूचना प्राप्त भएकाले त्यस्ता क्रियाकलाप नगर्न प्रशासनले सचेत गराएको छ।

आर्थिक सहयोग गर्न चाहनेहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’मा मात्र रकम जम्मा गर्न अपील गरिएको छ।

प्रशासनले जारी गरेको सूचनाको विपरीत कसैले उल्लेखित गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।
थप जानकारीका लागि प्रशासनले फोन नम्बर ०६१-४५१७६४, ०६१-४५५०७५ र ०६१-४५५९३६ उपलब्ध गराएको छ।

Scroll to Top