लेखनाथमा खुल्यो यातायात व्यवस्था कार्यालय, सेवा क्रमशः विस्तार गरिने

लेखनाथको पावर हाउसमा आज यातायात व्यवस्थापन कार्यालय शुभारम्भ भएको छ ।

शुभारम्भसँगै लेखनाथवासीले यहाँबाट छिट्टै यातायातसम्बन्धी सम्पूर्ण व्यवस्था पाउने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनाएका छन् ।
मुख्यमन्त्री पाण्डेले पोखरा–३० मा रहेको यातायात कार्यालयको उद्घाटनपछि अब कार्यालय सदैव रहने भन्दै स्थानीयलाई ढुक्क रहन आग्रह गरे।

सडक विभागको नाममा रहेको जमिन भएको हुँदा यातायात कार्यालय रहिरहन्छ कि रहन्न भन्ने आशंका मेट्दै मुख्यमन्त्री पाण्डेले अन्यन्त्र नसारिने र यातायात कार्यालय लेखनाथमै रहने बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले राज्यले जनताले भोग्दै आएको असुविधा अन्त्य गर्न कार्यालय स्थापना गरेको स्पष्ट पार्दै यो निर्णय कसैको व्यक्तिगत स्वार्थका आधारमा नभएको बताए।

उनले ‘खगराजजीले निर्णय गर्दा आफ्नो घर बनाउने भनेर निर्णय गरेको होइन, राज्यले निर्णय गर्दाखेरि आफ्नो घर बनाउने भनेर निर्णय गरेको पनि होइन, मैले अब आफ्नो घर बनाउन भनेर यो काम सुरु गरेको पनि होइन’ भनेका छन्।

पाण्डेले जनतालाई सहज सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसैअनुसार कामको शुभारम्भ गरिएको बताए।

उनले यातायातसम्बन्धी सम्पूर्ण सेवा क्रमिक रुपमा लेखनाथबाटै उपलब्ध गराइने जानकारी दिए। ‘सबै कार्य यहाँबाट दिइन्छ। यातायात कार्यालय, यो लेखनाथबाट। तर केही समय लाग्छ, किनकि सफ्टवेयरका कुराहरु छन् जुन विभागले हामीलाई दिनुपर्ने छ,’ उनले भनेका छन्।

उनका अनुसार ट्रायल सेन्टर निर्माण, कर्मचारी तालिम तथा प्राविधिक व्यवस्थापनका काम क्रमशः अगाडि बढाइनेछ।

मुख्यमन्त्री पाण्डेले यातायात कार्यालयसँगै ट्राफिक कार्यालयको व्यवस्थापन पनि सरकारले गर्ने बताए। अहिले कार्यालय अगाडि रहेको ट्राफिक कार्यालयलाई आवश्यक परे यही परिसरभित्र व्यवस्थापन गरिने र त्यसो सम्भव नभए पनि यही क्षेत्रमा उपयुक्त व्यवस्थापन गरिने उनले बताए।

‘मुख्यमन्त्री कार्यालयले हेर्दाखेरि यातायात कार्यालय पनि व्यवस्थित हुनुपर्छ, ट्राफिक कार्यालय पनि व्यवस्थित हुनुपर्छ, त्यो हुन्छ,’ पाण्डेले भनेका छन् ।

Scroll to Top