गण्डकी प्रदेश तेक्वान्दो संघको नयाँ नेतृत्व चयन भएको छ । पोखरामा आइतबार सम्पन्न संघको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचन समितिले तोकिएको संख्यामा मात्र उम्मेदवारी दर्ता भएको र विधान बमोजिम निर्वाचन गर्नुपर्ने पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले उनीहरुलाई निर्विरोध निर्वाचित घोषणा गरेको छ ।
समितिका अनुसार प्रथम नामावली प्रकाशन भएपछि उम्मेदवारहरु उपर कुनै दावी विरोध नपरेकाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरिएको हो ।
‘हामीले विधानको परिधिभित्र रहेर सहमतिको आधारमा नयाँ नेतृत्व चयन गरेका छौँ,’ निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल चुनिएका छन् । त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी गंगाबहादुर गुरुङले पाएका छन् ।
संघको सदस्यहरुमा इन्द्रमान खत्री, विकल्प बोगटी, दिक्षा गुरुङ, हरिराम सापकोटा, कुलबहादुर तामाङ (दोर्जे), योगराज अधिकारी, शिवराज वाग्ले, रेखमाया गुरुङ, कृष्ण महर्जन, माइकल कर्मचार्य, सुरज ढकाल र रमिला गुरुङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले प्रदेशमा तेक्वान्दो खेलको विकास र विस्तारका लागि थप सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएको छ ।
अधिवेशनमा नेपाल तेक्वान्दो संघ, गण्डकी प्रदेश खेलकुद परिषद, एशियन तेक्वान्दो युनियन र वर्ल्ड तेक्वान्दोका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।







