कांग्रेस महाधिवेशनः साँझ ५ बजेदेखि निर्वाचन, गण्डकीको मतदान प्रज्ञा भवनमा

नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ । कटुवालका अनुसार सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ।

यसैगरी ५ देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, ६ः३० देखि ७ः३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै, असोज २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन अपरान्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध, ५ः३० देखि ६ः३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

यसैगरी असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र उम्मेदवारी सच्याउन निवेदन दिने कार्यतालिका छ। सोही दिन बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि असोज २१ गते उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउने छन्।

असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव कटुवालले जानकारी दिए ।

मतदानका लागि तीन स्थान तोकिएको छ । प्रज्ञा भवनमा तोकिएको मतदान केन्द्रमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिहरुले मतदान गर्न पाउँनेछन् ।

राष्ट्रिय सभागृहमा बागमती प्रदेश भित्रका मतदाताहरुले मतदान गर्न पाउँनेछन् ।

यसैगरी खुल्लामञ्चमा कोशी प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश तथा भ्रातृ एवम् शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट प्रतिनिधि भएकाहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।

Scroll to Top