२४ घण्टाभित्र छानबिन नभए देशभर सडक संघर्षमा उत्रने नर्सहरुको चेतावनी

नर्स संघर्ष समिति नेपालले मोरङमा दर्ता भएको किटानी जाहेरीमाथि २४ घण्टाभित्र निष्पक्ष छानबिन प्रक्रिया अघि नबढाए देशभरका नर्सहरु सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

समितिका संयोजक ज्योति रानाभाटले विसं २०८३ वैशाख २० गते एक प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा नभए शनिबार दिउँसो ३ बजेदेखि देशभरका नर्सहरुले शान्तिपूर्ण विरोध प्रदर्शन र सडक संघर्ष सुरु गर्ने जानकारी दिएकी छन् ।

स्वास्थ्य सेवा जस्तो अत्यन्त संवेदनशील र मानवीय क्षेत्रमा अहोरात्र खटिएका नर्सहरुमाथि भइरहेका अमानवीय, अपमानजनक तथा हिंसात्मक व्यवहारप्रति समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सेवा प्रवाहमा जुटेका नर्सहरुमाथि कार्यस्थलमै धम्की, दुर्व्यवहार र असुरक्षाको वातावरण सिर्जना हुनु सम्पूर्ण नर्सिङ पेशा र पेशागत मर्यादामाथिको प्रहार भएको उल्लेख गर्दै समितिले यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित घटनाको सत्यतथ्य निष्पक्ष र पारदर्शी छानबिन गरी दोषी जोसुकै भए पनि कडाभन्दा कडा कानुनी कारबाही गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं । दोषीलाई संरक्षण गर्ने, घटनालाई मत्थर पार्ने वा कुनै पनि बहानामा सामान्यीकरण गर्ने प्रयास किमार्थ स्वीकार्य हुने छैन ।’

देशभरका स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको सुरक्षा र आत्मसम्मान सुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अस्पताल प्रशासन र सरोकारवाला निकायले तत्काल ठोस कदम चाल्नुपर्ने माग समितिले गरेको छ ।

सुरक्षित कार्य वातावरण बिना गुणस्तरीय स्वास्थ्य सेवाको परिकल्पना सम्भव नभएको तथ्यलाई मनन गर्न पनि आग्रह गरिएको छ ।

मोरङ जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षद्वारा किटानी जाहेरी दर्ता भइसकेको सन्दर्भमा उक्त जाहेरीमाथि तत्काल कारबाही अघि बढाउन दबाब दिँदै नर्सहरुको धैर्यता र सहनशीलतालाई कमजोरी ठान्ने भूल नगर्न चेतावनी दिइएको छ ।

यो आन्दोलन कुनै व्यक्ति वा संस्थाविरुद्ध मात्र नभई सम्पूर्ण नर्सिङ जगतको सम्मान, सुरक्षा र न्यायका लागि भएको विज्ञप्तिमा उल्लेख छ ।

समितिले सबै नर्स र स्वास्थ्यकर्मीहरुलाई एकजुट हुन आह्वान गर्दै आगामी दिनमा यस्ता कार्यस्थल हिंसाका घटना दोहोरिन नदिन स्पष्ट कानुनी व्यवस्था र संस्थागत जवाफदेहिता सुदृढ गर्न नेपाल सरकारसँग माग गरेको छ ।

Scroll to Top