प्रधानमन्त्री बालेन्द्र शाहसँग आज उनकै कार्यकक्षमा भेटेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका समस्या राख्दै समाधानको अपेक्षा गरेको जानकारी दिएका छन् ।
प्रदेशमा देखिएका समस्या, कानुन निर्माण र विकास निर्माणलाई तीव्रता दिने विषयमा छलफल केन्द्रित रहेको मुम पाण्डेले बताए ।
छलफलका क्रममा स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा संघ–प्रदेश सहकार्य सुदृढ बनाउने लगायत समग्र विषयमा कुराकानी भएको छ ।
मुख्यमन्त्री पाण्डेले यी विषयमा भएको छलफल सकारात्मक भएको बताउँदै संघ र प्रदेशबीच अल्झनमा रहेका विविध विषयवस्तुले निकास पाउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री शाहले आयोजना गरेको प्रदेशका मुख्यमन्त्रीहरूसँगको छलफलमा मुम पाण्डे सहभागी भएका हुन् ।
यस छलफलले संघीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको पाण्डेको बुझाई छ ।







