साढे १० करोड ठगीमा प्राधिकरणका आयुक्तउपर विशेषमा मुद्दा, श्रीमति र छोरीपनि तानिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै तिवारीले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको छ ।

आयोगका अनुसार, तिवारीको जागिर अवधि २०४४ देखि २०७८ सम्ममा वैधानिक आय १४ करोड ५५ लाख ९१ हजार ३५६ रुपैयाँ २५ पैसा मात्र देखिएको छ ।

तर त्यही अवधिमा खर्च तथा लगानी २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ ६४ पैसा भएको देखिएकाले कुल आयभन्दा खर्च १० करोड ५४ लाख ९५ हजार बढी भएको ठहर अख्तियारको छ।

यो मुद्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वप्रमुख प्रशासकीय पदाधिकारीमाथिको ठूलो भ्रष्टाचार प्रकरण हो ।

तिवारीले आर्जन गरेको गैरकानुनी सम्पत्ति श्रीमती मीना देवी तिवारी र छोरी मीराको नाममा समेत लगानी गरेको देखिएकाले उनीहरूलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरूको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरिएको छ ।

हाल आफै भ्रष्टचारीको मुद्दामा मुछिएका तिवारीले सन् २०२३ भुटानी शरणार्थी प्रकरणमा देशको इज्जत माटोमा मिलाउनेलाई फाँसीको सजाय हुनुपर्छ भन्ने भिडिओ शेयर गरेका थिए ।

Scroll to Top