तनहुँ । आगलागी तथा विपद्का समयमा अपनाउनुपर्ने सावधानी र आगो नियन्त्रणका प्रभावकारी उपायबारे समुदायलाई व्यवहारिक जानकारी गराउने उद्देश्यले डुम्रे सांस्कृतिक युवा परिवारको आयोजनामा ‘Fire Fighting Simulation’ अभ्यास कार्यक्रम सम्पन्न गरेको छ ।
आज आईतबार डुम्रेमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण, भानुको सहभागितामा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी व्यवहारिक अभ्यास प्रस्तुत गरिएको थियो ।
अभ्यासका क्रममा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूले आगलागी नियन्त्रणमा प्रयोग हुने विभिन्न उपकरणको प्रयोग, आगो नियन्त्रण गर्ने विधि तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सुरक्षा सावधानीबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए ।

सहभागीहरूले आगलागीका बेला तत्काल अपनाउनुपर्ने सुरक्षा उपाय तथा आगो नियन्त्रणका व्यवहारिक तरिकाबारे जानकारी लिएका थिए ।
कार्यक्रममा गणपति श्रीराम कुँवरको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी डुम्रे चौकीका प्रमुख, हरिहर महिला समूह, स्थानीय महिला समूह, जेसीआई भानु–बन्दीपुर लगायत विभिन्न संघसंस्था तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमबारे जानकारी दिँदै डुम्रे सांस्कृतिक युवा परिवारका अध्यक्ष शम्भु श्रेष्ठले आगलागी तथा विपद्का घटनामा तत्काल अपनाउनुपर्ने सुरक्षा उपायबारे समुदायलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
अध्यक्ष श्रेष्ठले आगलागीका बेला सही समयमा सही उपाय अपनाउन सके मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै समुदायस्तरमै यस्ता व्यवहारिक तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
कार्यक्रमले स्थानीय समुदायमा आगलागी नियन्त्रण तथा विपद् व्यवस्थापनसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै आपत्कालीन अवस्थामा सुरक्षाकर्मी र समुदायबीचको समन्वय तथा सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।