विश्व फार्मासिस्ट दिवसमा फार्मेसीको भूमिका र विपद् तयारीबारे अन्तरक्रिया

विश्व फार्मासिस्ट दिवसको अवसर पारेर पोखरामा अस्पताल फार्मासिस्टको भूमिका, अनुभव, चुनौती तथा आपत्कालीन एवं विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

दिवसको अवसर पारि नेपाल फार्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऊँ’ भन्ने नारासहित कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी विभिन्न अस्पतालका फार्मेसी इन्चार्जहरूले बाढी–पहिरो लगायत विपद्का समयमा औषधि व्यवस्थापन, आकस्मिक औषधिको मौज्दात, जनशक्ति तथा तालिम, आपूर्ति व्यवस्थापन र अस्पताल फार्मेसीका चुनौती तथा अनुभवहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका निमित्त डिन डा. गुलाम महोबत खानले फार्मेसी शिक्षालाई व्यवहारमुखी बनाउँदै आपत्कालीन तथा विपद् व्यवस्थापनसम्बन्धी अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।

एनपिए गण्डकीले अस्पताल फार्मासिस्टहरूलाई एकै ठाउँमा ल्याई अनुभव आदानप्रदान तथा अन्तरक्रियाका लागि गरेको पहलको प्रशंसा गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि गण्डकी विश्वविद्यालयका रजिस्ट्रार डा. ढाकाराम भण्डारीले आपत्कालीन तथा विपद् व्यवस्थापनका लागि फार्मेसी शिक्षामा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास र प्रत्यक्ष अनुभवसमेत समेटिएको पाठ्यक्रम आवश्यक रहेको बताए । विपद्का समयमा औषधि व्यवस्थापन, आपूर्ति तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिका प्रभावकारी बनाउन शैक्षिक तहदेखि नै तयारी गर्नुपर्नेमा भण्डारीले जोड दिएका थिए ।

निभिक्स फार्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले आपत्कालीन तथा विपद्का अवस्थामा औषधि तथा स्वास्थ्य सामग्रीको निरन्तर आपूर्ति सुनिश्चित गर्न औषधि उद्योगको महत्त्वपूर्ण भूमिका रहेको बताए । आगामी दिनमा आपत्कालीन अवस्थामा औषधि उत्पादन, आपूर्ति तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनमा उद्योग क्षेत्रले गर्न सक्ने योगदानका विषयमा आफ्नो भनाइ राखेका थिए ।

एनपिए गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले अस्पतालमा कार्यरत फार्मासिस्टहरूसँग नजिकबाट सहकार्य गर्दै तालिम, कार्यशाला तथा क्षमता अभिवृद्धिका कार्यक्रममार्फत फार्मास्युटिकल सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए ।

विभिन्न अस्पतालमा कार्यरत फार्मासिस्टबीच सम्बन्ध र सहकार्य विस्तार गरी अनुभव आदानप्रदानका लागि सञ्जाल निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । फार्मेसी पेसाका विभिन्न विधा तथा क्षेत्रमा कार्यरत जनशक्तिको सीप, क्षमता र पेसागत सशक्तीकरणका लागि एनपिए गण्डकी सधैँ सहकार्य गर्न तयार रहेको पौडेलले बताएका थिए ।

एनपिए गण्डकीका उपाध्यक्ष नवराज बास्तोलाले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन सदस्य अमृता अधिकारीले गरेकी थिइन् ।

Exit mobile version