नेपाली क्रिकेटका सफल अलराउन्डर करण केसी अचेल मुस्ताङको थासाङ गाउँपालिका—३ को ‘लेते गाउँ रिसोर्ट’मा भेटिन्छन् ।
हालै सम्पन्न नेपाल प्रिमियर लीग (एनपीएल)पश्चात् करणसँगै पत्नी वर्षा बस्नेत रिसोर्टको स्याहारसुसारमा लागेको टिकटकमार्फत प्रचार गरेको देख्न सकिन्छ ।
मुलतः तीब्र गतिको बलर रहेका केसी खेल जीवनको सम्भवतः अन्तिम समयतिर छन् । सोही कारण पनि उनी पर्यटन व्यवसायमा लागेको हुन सक्छन् ।
केसीले लेतेमा स्थानीय ईन्द्रजीत गौचनको चार रोपनी जग्गा भाडामा लिएर रिसोर्ट सञ्चालन गरेको बताएका छन् । उनले उक्त जग्गा १२ वर्षकालागि भाडामा लिएका हुन् । उक्त रिसोर्ट बेनी—जोमसोम सडकमार्ग नजिकै रहेको छ ।
रिसोर्टमा ‘ए’ आकारको पाँच वटा भिल्ला शैलीका कटेज र रेस्टुरेन्ट प्रयोजनार्थ दुई तले संरचना रहेको छ ।
केही अघि मुस्ताङ भ्रमणकाक्रममा प्रधानमन्त्री बालेन्द्र शाह त्यहाँ पुगेपछि रिसोर्टको चर्चा थप चुलिएको हो । प्रधानमन्त्री दम्पत्तिले त्यहाँ पुगेर खिचेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याएका थिए ।
