वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकहरूले सञ्चालन गर्दै आएको असहमति तथा आन्दोलनका कार्यक्रम औपचारिक रूपमा अन्त्य गरी आजदेखि ड्युटीमा फर्कने सहमति भएको छ।
सम्झौता पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिनको कार्यालय, नेपाल मेडिकल काउन्सिल, प्रथम वर्षका आवासीय चिकित्सक र कलेज प्रशासनबिच भएको वार्तापछि सहमति जुटेको हो।
सम्झौताको रोहवरमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। सहमतिअनुसार असहमतिमा सहभागी भएकै कारण कुनै पनि आवासीय चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दण्ड, सजाय, प्रतिशोध, मानसिक तनाव, धम्की वा कलेज तथा छात्रावासबाट निष्कासन नगरिने जनाइएको छ।
साथै, कटौती गरिएको सम्पूर्ण स्टाइपेन्ड फिर्ता गरिने, हप्तामा दुईभन्दा बढी २४ घण्टे ड्युटी नतोकिने, ड्युटीपछिको आरामको निर्णयअनुसार हुने तथा नियमित परीक्षा र शोधपत्र स्वीकृतिमा अनावश्यक ढिलाइ वा अयोग्य नठहर्याइने व्यवस्था गरिएको छ।
राजीनामा दिएका तथा रिलिज लेटर प्राप्त गरेका आवासीय चिकित्सकहरूलाई समेत बिनासर्त पुनः भर्ना गरिने र स्त्री तथा प्रसूति रोग विभागका ६ जना चिकित्सकको अनुपस्थिति तथा स्टाइपेन्ड फिर्ताका लागि त्रिवि आइओएम क्याम्पसमा पहल गरिने सहमतिमा उल्लेख छ।
यसैगरी, विभागीय प्रमुखको विवरण वा पुष्टिअनुसार हाजिरी कायम गरिने, २०८३ बैशाख १३ देखि छुटेका हाजिरी मिलाउन आइओएम डिन कार्यालयसँग समन्वय गरी पुनः कायम गरिने तथा बिदा स्वीकृतिका लागि विभागीय प्रमुख र प्रोग्राम कोअर्डिनेटर दुवैको हस्ताक्षर पर्याप्त हुने व्यवस्था गरिएको छ।
